मोहनविक्रम प्याथ जसले भक्तपुरको काष्ठकला बुटवल भित्र्याए
बुटवल : पसल अगाडि काठका टुक्रा र रुखका जरा छरपष्ट छन्। हातमा मुंग्रो र छिना लिएका बुटवल- ८, सुख्खानगरका मोहनविक्रम प्याथ काठमा कला भर्न व्यस्त छन्।
उनले बुटवलमा मुंग्रो र छिनासँग खेल्न थालेको २० वर्ष नाघिसक्यो। पुर्ख्यौली घर भक्तपुर नगरपालिका भए पनि बुटवलसँग मोहनविक्रमको साइनो २०५८ सालदेखि छ।
घुमघामका क्रममा बुटवल आएका बेला उनका साथीले काष्ठकलाको सिपबारे बुटवलका रोना इन्टरप्राइजेज (फर्निचर उद्योग)का सञ्चालक अशोक जोशीलाई जानकारी गराए। काठमाडौँ गएको केही महिनापछि उनलाई उद्योग सञ्चालक जोशीले बुटवल बोलाए। त्यसपछि उनले दुई वर्ष त्यहीँ काम गरे।
भक्तपुरमा मोहनका हजुरबुबा, बुबाले पनि काष्ठकलाको काम गर्थे। काठमाडौँ, ललितपुर, भक्तपुरका कयौँ मन्दिरमा उनका हजुरबुबा र बुबाले कला भरेका छन्। अघिल्ला पुस्ताले गर्दै आएको काम अहिले मोहनले गरिरहेका छन्।
मोहन काठभित्र कला बुन्छन्। घरका झ्याल-ढोकामा पनि कलात्मक बुट्टा कुँद्छन्। काठलाई कलामा बदल्छन्। ‘मैले पुर्खाको पेसा अँगालेको हुँ। यसले मलाई पहिचान मात्र दिएको छैन, जीविकोपार्जन गर्न सजिलो बनाइदिएको छ,’ उनले भने।
पुराना पाटी, पौवा, सत्तल, मन्दिर, विहार, दरबार र घरहरूका झयालढोका, भित्ता तथा तिनमा कुँदिएका आकृति, थाम, टुँडाल, दलिन, निदाल, तोरण, मण्डल आदि पुराना काष्ठकलाका उत्कृष्ट नमुना उनी बनाउँछन्।
घर र कार्यालयमा नेपालीपन झल्किने एउटा (झ्याल, ढोका वा अन्य कुनै चिज) कलाकृतिहरू राख्नुपर्ने अभियान पनि उनले सुरु गरेका छन्। ‘विदेशी अतिक्रमण रोकौँ, नेपाली कला-संस्कृतिलाई संरक्षण गरौँ’ भन्ने अभियान चलाएको छु। यो धेरै पालिकाहरूले अङ्गीकार पनि गरेका छन्,’ उनले भने।
अहिले उनी काठमा कुँदिएका कलात्मक मूर्तिदेखि मठमन्दिर निर्माण र त्यसमा भरिने कलाहरूको जिम्मा लिन्छन्। आम्दानी पनि राम्रो छ। यसैबाट परिवारको पालन-पोषण मात्र गरेका छैनन्। वार्षिक १० लाखभन्दा बढी बचत पनि गरेका छन्। कारोबार मात्र उनको वार्षिक ३० लाख बढी छ।
मोहनले अहिलेसम्म पाल्पाको नारायण मन्दिर, गुल्मी रिडीको ऋषिकेश मन्दिर गुल्मी दरबारमा कलात्मक रूपमा निर्माण गरिसकेका छन्। उनको उद्योगमा अहिले १० जना कलाकारले काठमा कला भर्छन् भने उनकी श्रीमती सुमिता प्याथ पनि कला भर्न सिपालु भएकी छन्।
सुमिताले राष्ट्रिय उत्कृष्ट महिला उद्योगी पुरस्कार प्राप्त गर्न सफल भएकी छन्। प्याथ दम्पतीले ८० जनाभन्दा बढीलाई काष्ठकला सिकाएका छन्।
मोहनले सबै आफ्नै काष्ठकला प्रयोग गरी बुटवलमा घर निर्माण गरेका छन्। ‘सहर–बजारमा बनाउने घरहरू पनि नेपाली काष्ठकला प्रयोग कम हुन थालेको छ। यसको प्रयोग बढाउने मेरो लक्ष्य छ,’ उनले भने।
मोहन विक्रम ग्राहकले चाहे अनुसारको काठको बुट्टा भर्न सक्छन्। काठमा कला भर्नुपर्यो भने उनी फोटो हेरेर दुरुस्तै बनाउन सक्छन्। ‘कसैलाई जनावर मन पर्न सक्छ, कसैलाई भगवान्, कसैलाई विभिन्न वस्तुका आकृति काठमा कुँदाएर राख्न मन पर्छ भने पनि मैले त्यो कला गर्न सक्छु,’ उनले भने।
नर्बु लामासँगको त्यो भेट
बुटवलमा काष्ठकला काम गर्ने व्यक्ति छ भन्ने कुरा तत्कालीन उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बु लामाले थाहा पाए। खोज्दै जाँदा एक महिनापछि लामा मोहनको सम्पर्कमा पुगे।
‘मेरो कला देख्नसाथ उहाँ दङ्ग पर्नुभयो। भेटको भोलिपल्ट नै बुटवलमा औद्योगिक प्रदर्शनी चल्दै थियो। लामा सरले आफूले लिएको स्टल दिनुभयो,’ उनले भने, ‘प्रदर्शनीमा आफूले बनाएको पञ्चनागको ऐनाको फेम र एमबी काष्ठकला तथा हस्तकला भन्ने ब्यानर राखे। अनि मेलामा मेरो स्टलतर्फ सबैको ध्यान खिच्यो।’
मेलामा स्टल राखेपछि काष्ठकलाप्रति आममानिसको आकर्षण बढ्दै गएको र मेला सकिएपछि काष्ठकलाको माग पनि बढ्दै गएको उनले बताए। मोहनले भने, ‘म भित्र रहेको क्षमतालाई बुटवलको औद्योगिक प्रदर्शनीले उजागर गरिदियो।’
मंसिर १, २०७८ बुधबार ०८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।