वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा 

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा 

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको जनाएको छ।

विभागले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ। मंगलबार बिहानको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस रहेकोमा बुधबार घटेर ७.८ डिग्री सेल्सियसमा झरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन। 

विभागका अनुसार अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। 

आज बुधबार प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने विभागले अनुमान गरेको छ।

विभागका अनुसार भोलि बिहीबार पनि देशको पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

शुक्रबार भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ। 

मंसिर १, २०७८ बुधबार ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।