बिहेबारे प्रश्न आएपछि अभिनेत्री केकीले भनिन्' अर्को मङ्सिरमा त पक्कै होला
काठमाडौँ : अविवाहित अभिनेत्रीहरूलाई सबैभन्दा धेरै पच्छ्याउने प्रश्न हो बिहे कहिले गर्ने ? प्रियङ्का कार्कीले यो प्रश्नबाट मुक्ति पाइन्। अन्य केही अविवाहित अभिनेत्रीसँगै केकी अधिकारीलाई भने यो प्रश्नले अझै छाडेको छैन।
कुनै सार्वजनिक कार्यक्रम भयो कि प्रश्न आइहाल्छ बिहे कहिले? मङ्गलवार एक रियालिटी शो सम्बन्धी कार्यक्रमको पत्रकार सम्मेलनमा पनि उनको विवाहको जिज्ञासा आइहाल्यो।
नायक दीलिप पौडेल अनि नृत्य निर्देशक शङ्कर बिसी समेत सहभागी रहेको कार्यक्रममा विवाहबारे जिज्ञासा आउँदा उनले भनिन्' अहिले त घरमा त्यस्तो सुरसार केही छैन। अर्को मङ्सिरमा त होला नि।'
केकीको विवाहको कतिको प्रतीक्षा छ भन्ने जिज्ञासामा दिलीपले जिस्कँदै भने' राम्रो मान्छेको त विवाह नै नभए राम्रो।'
केकीले विवाह गरे पनि पछुताउने हो नगरे पनि पछुताउने हो भन्दै बरु विवाह गरेरै पछुताउने बताएकी थिइन्।
शङ्कर बिसीले भने चाडै विवाह गर्नुपर्ने धारणा राखे। उनले अहिले आफ्नो छोरासँग हिँड्दा दाजुभाइ जस्तै लाग्ने भन्दै बेलैमा विवाह गर्न सुझाव दिए।
कात्तिक ३०, २०७८ मंगलबार २१:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।