न्यायाधीशहरू प्रधानन्यायाधीशले बोलाएको फुल कोर्टमा बस्न राजी
काठमाडौँ : प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गरेका न्यायाधीशहरू नियमित काममा फर्कन सहमत भएका छन्।
नियमित काममा फर्कन उनीहरूले गोला प्रथाबाट पेसी तोक्ने व्यवस्थाका लागि सर्वोच्च अदालतको नियमावली संशोधन हुनुपर्ने सर्त राखेका छन्।
इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुले शुक्रबारसम्म फुल कोर्टमा सहभागी हुने समझदारी जुटाएका छन्।
फूल कोर्टबाट नियमावली संशोधन गर्ने र गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्नका लागि न्यायाधीशहरू सहमति नजिक पुगेका हुन्। बुधबार बिहान यस विषयमा निर्णय गर्न बैठक बस्ने एक न्यायाधीशले बताएका छन्।
बुधबारको बैठकपछि शुक्रबारसम्म सर्वोच्च अदालतको ‘फूल कोर्ट’ ले नियमावली संशोधन गर्ने र गोला प्रथाबाट पेसी तोक्ने गरी प्रक्रिया मिलाउने तयारी न्यायाधीशहरुले गरेका छन्।
न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बहिष्कार गर्ने नीति भने नछाडेका जिकिर गरेका छन्। प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गरेर राजीनामा माग्दै आन्दोलन थालेका न्यायाधीशहरू अनन्त फुल कोर्टमा बस्न राजी भएका हुन्।
न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग ‘बेन्च शेयर’ भने नगर्ने बताएका छन्। बेन्च सेयर नगर्ने तर गोला प्रथाबाट पेसी तोकेर आगामी आइतबारदेखि सर्वोच्च अदालतका काम कारबाहीलाई नियमित रूपमा सञ्चालन गर्नेमा सहमति नजिक पुगिएको एक न्यायाधीशले बताए। संवैधानिक इजलासको विषयमा भने न्यायाधीशहरूमा अन्योल नै रहेको छ।
प्रधानन्यायाधीश विना संवैधानिक इजलास गठन हुँदैन। सर्वोच्च अदालतको पूर्ण बैठक(फुल कोर्ट) पनि प्रधानन्यायाधीशले नै बोलाउनु पर्नेछ। पाँच जना न्यायाधीशहरू राजीनामा माग्ने आन्दोलन छोडेर राणाले तोकेको इजलासमा बसेपछि बाँकी १४ न्यायाधीशमाथि काममा फर्कन दबाब परेको हो।
बार एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरूले जनतालाई दिने सेवा प्रवाहमा कुनै नकारात्मक प्रभाव नपर्ने गरी आन्दोलनलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए।
कात्तिक ३०, २०७८ मंगलबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।