गुन्डा नाइके परशुरामसँग मिलेर फिल्म बनाउँदै निर्देशक सुदर्शन
काठमाडौँ : आपराधिक गतिविधीहुँदै राजनीतिमा प्रवेश गरेका परशुराम बस्नेत अब फिल्म निर्माणमा संलग्न हुने भएका छन्। विराटनगर क्षेत्रमा कुनै समय गुन्डा नाइके भनेर चिनिएका उनी अहिले नेकपा एमालेबाट राजनीतिमा संलग्न छन्।
उनले फिल्म निर्देशक सुदर्शन थापासँग मिलेर फिल्म 'राजा' निर्माण गर्न लागेका हुन्। यसको निर्माता बस्नेत हुन्। ठेक्कापट्टा जवर्जस्ती कब्जा गर्ने लगायतका आपराधिक गति धीमा संलग्न रहेका बस्नेत आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको मुद्दामा समेत परेका थिए।
विशेष अदालतबाट सफाइ पाए पनि उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यस अगाडि अर्का गुन्डा नाइके दीपक मनाङेले 'वान वे' नामक फिल्म बनाएका थिए।
निर्माण समूहका एक सदस्यका अनुसार 'राजा' मा कलाकार राज कटुवाल अनुबन्ध भइसकेका छन् भने अन्य कलाकार चयनको काम चलिरहेको छ।
फिल्मको छायाङ्कन माघको दोस्रो साताबाट सुरु गरिने बताइएको छ। यस अगाडि थापाले 'मेरो लभ स्टोरी', 'प्रेमगीत', ‘मेरो एउटा साथी छ', 'म यस्तो गीत गाउँछु’ र ' सम्हालिन्छ कहिले मन' निर्देशन गरेका छन्। 'सम्हालिन्छ कहिले मन' भने रिलिज हुन बाँकी छ।
कात्तिक ३०, २०७८ मंगलबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।