न्यायाधीशहरूको एकता टुटाउन सफल भए प्रधानन्यायाधीश राणा तर टरेको छैन राजीनामाको सङ्कट
काठमाडौँ : संवादको आग्रह अस्वीकार गर्दै नेपाल बार एसोसिएसन नियमित आन्दोलनमै रहे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्चका न्यायाधीशहरूको एकता टुटाउन भने सफल भएका छन्।
घोषित रूपमा केही नबोले पनि सर्वोच्च अदालतका न्यायाधीशहरुले राणाले तोकेको इजलास अस्वीकार गर्दै छलफलमा बस्दै आएका थिए। तर मंगलबारबाट १९ न्यायाधीशमध्ये पाँच जनाले आफ्नो समूहमा विद्रोह गरेर नियमित काममा फर्किएका छन्। पाँचमध्ये चार जनाले मङ्गलवार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्राको पनि सुनुवाइ सुरु गरेका छन्।
यसरी विद्रोह गर्ने न्यायाधीशहरू हुन् तेजबहादुर केसी र कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा।
न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ सुरु गर्यो मङ्गलवार।
न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, हरि प्रसाद फुयाल र नहकुल सुवेदी भने नियमित काममा फर्किएका छैनन्।
पाँच न्यायाधीश नियमित सुनुवाइमा फर्किए पनि राजीनामाका लागि प्रधानन्यायाधीश राणा भने अझै चेपुवामै छन्। मङ्गलवार पनि उनी नियमित गेटबाट सर्वोच्च अदालत प्रवेश गर्न सकेनन्। उनले वैकल्पिक बाटो नै प्रयोग गरे। नेपाल बार एसोसिएसन राजीनामाको दबाइदिँदै नियमित आन्दोलनमा छ र बारले इजलास सुरु भए पनि बहस नगर्ने घोषणा गरेका छन्।
तर बारका सदस्यहरूमाझ पनि सुनुवाइ बहिष्कार गर्नेबारे एकमत भने छैन। बारकै केही सदस्यहरू अहिले पनि प्रधानन्यायाधीश राणाको पक्षमा हातमा सेतो पट्टी बाँधेर आन्दोलन गर्ने गरेका छन्।
बारमा एक मत बन्न नदिन सफल भएका राणा न्यायाधीशहरुविच मत बझाउन सफल भए पनि बारको आन्दोलन जारी रहेसम्म उनी राजीनामाको दबाबबाट मुक्त हुने देखिन्न। पूर्व न्यायाधीश समाज लगायतकाले अहिले पनि राजीनामाका लागि दबाब बढाइरहेका छन्। तर सत्ताधारी दल र विपक्षमा रहेका दलहरू भने अझै पनि अदालतको गतिरोधबारे मौन नै बस्दै आएका छन्।
कात्तिक ३०, २०७८ मंगलबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।