सुर्खेतमा सरकारी कार्यालय खुला, बन्द गराउँदै हिँडेका दुई जना प्रहरी नियन्त्रणमा
सुर्खेतः पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण सुर्खेतका पसल, बैंक तथा वित्तीय संस्थाहरू बन्द भए पनि सरकारी कार्यालय भने खुलेका छन्। यस्तै बन्द गराउँदै हिँडेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार वीरेन्द्रनगर–२ का २० वर्षीय दिनेश बोगटी र कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवालाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई वीरेन्द्रनगरको धुलीयाबीटबाट नियन्त्रणमा लिईएको प्रवक्ता घर्तीले बताए।
‘सुर्खेतमा सबै सरकारी कार्यालयहरू खुलेका छन्। बैंक तथा वित्तीय संस्थाहरू बन्द छन्। १५÷२० प्रतिशत बजार क्षेत्र मात्रै खुला छन्,’ प्रवक्ता घर्तीले भने, ‘केही मात्रामा सवारी साधन पनि चलेका छन्। र आवश्यकता अनुसार प्रहरीले पनि स्कटिङ गरेर सवारी चलाइ रहेको छ। बजार बन्द गराउँदै हिँड्ने विप्लवका दुई जना कार्यकर्तालाई नियन्त्रणमा ल्याइएको छ।’
मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन्। सडकमा विस्तारै सवारीको चाप बढ्दै गइरहेको छ। चोक चोकमा नेपाल प्रहरी र सशत्र प्रहरीसहित सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिती रहेको छ।
कात्तिक ३०, २०७८ मंगलबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।