प्रदेश १: मुख्यमन्त्री राईले आज विश्वासको मत लिने, मन्त्रालय फुटाउने तयारी
इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (मंगलबार) विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार आज प्रदेश सभा बैठक बोलाइएको हो।
गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए। पाँच दलको ठूलो गठबन्धन भएकाले मन्त्रीको विषय अझै टुङ्गो लागिसकेको छैन।
विश्वासको मत लिएकै दिन मन्त्रिमण्डल विस्तार गर्ने राईको तयारी छ। हाल कायम मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।
सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने सहमति भइसकेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा कुन फुटाउने भन्ने विषय सहमतिको प्रक्रियामा रहेको बताइएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीका अनुसार सामाजिक, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन हुनेछ।
प्रदेशमा काङ्ग्रेसले चार, माओवादी केन्द्रले तीन, नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय दावी गरिरहेका छन्। आकाङ्क्षी बढी भएका कारण मन्त्रिपरिषद् सदस्यको सङ्ख्या बढीमा १४ पुर्याउने सत्ता पक्षको तयारी छ।
प्रदेश सभा नियमावली २०७५ अनुसार विश्वासको मत लिने ४८ घण्टा अगाडि प्रदेश सभा सचिवालयमा सूचना दिनुपर्ने प्रावधान छ। सोही प्रावधानको आधारमा आइतबार नै राईले सचिवालयमा जानकारी सहितको प्रस्ताव दर्ता गराइसकेका छन्।
मन्त्री टुङ्गाउन सत्तारुढ दलभित्र किचलो चलिरहँदा मुख्यमन्त्री राईले भने विश्वासको मत लिने हतारो गरेका छन्। मन्त्रिमण्डल विस्तार गरेर विश्वासको मत लिँदा असन्तुष्टि आउने सम्भावना रहेकाले विश्वासको मत लिई हाल्ने गरी राईले प्रक्रिया सुरु गरेका हुन्।
मुख्यमन्त्री राईले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा मन्त्री छनोटमा समस्या रहेको बताएका थिए। मन्त्री नपाउने सांसदहरूले विश्वासको मत लिँदा फ्लोर क्रस गर्ने सम्भावना समेत देखेपछि राईले सुरुमै विश्वासको मत लिने तयारी गरेका हुन्।
सत्तापक्षीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद छन्।
प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एक जना सांसद छन्।
कात्तिक ३०, २०७८ मंगलबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।