कहाँ हराए कर्णालीका कोल ?
सुर्खेत : बराहताल गाउँपालिका-७, पोखरीकाँडाका ७२ वर्षीय तिलवीर विक १२ वर्षअघिसम्म तोरी पेल्ने कोल खोज्दै गाउँ-गाउँ पुग्थे। त्यतिबेला तोरी पेल्ने साधन भनेकै कोल थियो।
५ वर्षको उमेरदेखि नै आमासँग तेल पेल्न कोलमा जाने गरेको सम्झन्छन् तिलवीर। तर आधुनिक मिल भित्रिएपछि विगत १२ वर्षयता उनले कोल देख्न पाएका छैनन्। 'गाउँमा ६ वटा कोल थिए। अहिले ती कोलको नामोनिसान भेटिँदैन,' उनी चिन्ता व्यक्त गर्छन्।
‘हामी सानै थियौं, आमाहरु तोरी पेल्न गाउँ नजिकैको कोलमा पुगेर तोरी पेल्नुहुन्थ्यो। गाउँभरिका मान्छे मिलेर पालैपाले एकअर्काको तोरी पेल्थे,’ तिलवीरले भने, ‘मैले पनि धेरै वर्षसम्म कोलमा तेल पेलें। एक दिनमा १० जनाकोसम्म तोरी पेल्थ्यौं। गाउँले मिलेर बनाएको कोलमा पैसा लाग्दैनथ्यो। कति राम्रो तेल हुन्थ्यो। अहिले त कोल देखिनै छोडे।’
बजारमा आधुनिक मिल भित्रिनु र बजारिया तेलको प्रयोग बढ्नु कोल लोप हुनुको प्रमुख कारण रहेको उनको भनाइ छ।
कोल लोप हुँदै गएपछि विद्यार्थीलाई स्थानीयस्तरमा प्रयोग हुने उपकरण तथा पुराना पुराना सामानका बारेमा पढाउन पनि अप्ठ्यारो भएको स्थानीय शिक्षक बताउँछन्।
अब त विद्यार्थीलाई पनि किताबमा मात्र देखाउनुपर्ने बाध्यता भइसकेको सूर्यज्योति माध्यमिक विद्यालय बराहताल-७, लामाखालीका शिक्षक कमल चन्दले बताए।
‘बालबालिकालाई स्थानीयस्तरमा पाइने उपकरण र औजार देखाएर पढाउँदा प्रभावकारी हुन्थ्यो। कोलको विषयमा पनि बालबालिकालाई पढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले यहाँ कोल नै छैनन्। किताबमा मात्र पढाउनुपर्ने बाध्यता छ।’
प्रविधिको विकास क्रमसँगै सुर्खेत लगायत कर्णालीमा परम्परागत कोल लोप हुँदै गएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा पनि पानी, विद्युत र डिजेल मिलको पहुँच बढ्दै गएपछि परम्परागत कोल लोप हुँदै गएको
चौकुने गाउँपालिका-२ का मोतिसिंह बोहोराले बताए।
‘तोरी, चिउरी, तिल, डाल्डा, सूर्यमूखी जस्ता तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी, जंगलमा पाइने तेलजन्य बोटको लोप तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ,’ बोहोराले भने, ‘बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध भएपछि गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिन हराउँदै गइरहेका छन्।’
कोलमा तोरी पेल्न दिनभर समय लाग्ने र आधुनिक मिलमा छिटो-छरितो काम हुन थालेपछि कोलको प्रयोग हुनै छोडेको उनको भनाइ छ।
कात्तिक ३०, २०७८ मंगलबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।