राप्रपाको सातै प्रदेश अध्यक्ष चुनिए
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सात वटै प्रदेशको अध्यक्ष चयन भएका छन्। आइतबार भएको प्रदेश अधिवेशनबाट कतै सर्वसम्मत त कतै निर्वाचनबाट अध्यक्ष छानिए।
प्रदेश नम्बर १ मा भएको निर्वाचनमा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा विजयी भए। गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई हराएर हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई हराएर प्रदीपकुमार उदय निर्वाचित भए।
२ नम्बरमा भरत गिरी, बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भए।
राप्रपाले मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा महाधिवेशन गर्दै छ । पार्टी अध्यक्षमा पुराना र नयाँ पुस्ताबिच प्रतिस्पर्धा हुने सम्भावना छ। पुराना पुस्ताबाट पशुपति शमशेर राणादेखि कमल थापासम्म उम्मेदवार छन्। नयाँबाट राजेन्द्र लिङदेन र धवल शमशेर राणा आकाङ्क्षी देखिएका छन्।
कात्तिक ३०, २०७८ मंगलबार ००:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।