कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधिले २ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने 

कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधिले २ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने 

काठमाडौँ : नेपाली कांग्रेसले प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क २ हजार रुपैयाँ तोकेको छ। कांग्रेसले नामावली दर्ता शुल्क बापत २ हजार रुपैयाँ तोकेको हो।

कांग्रेस केन्द्रीय समितिको बैठकले प्रदेश अधिवेशनका प्रतिनिधिहरूको आवास र भोजनको व्यवस्थापन प्रदेश अधिवेशन आयोजना गर्ने जिल्लाले गर्नु पर्ने निर्णय गरेको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन आयोजक समितिका सदस्यहरूमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने पौडेलले निकालेको विज्ञप्तिमा लेखिएको छ।

पार्टीको चौधौँ महाधिवेशन सम्बन्धी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा कार्तिक ११ मा प्रकाशित संशोधित कार्यतालिकालाई अनुमोदन गरेको छ।

१४ औँ  महाधिवेशनमा नवीकरण गरेका कांग्रेसका क्रियाशील सदस्य तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भई क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिले प्रदेश कार्यसमितिको सदस्य र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महानगरपालिका/उपमहानगरपालिका कार्यसमितिको सभापति पदमा उम्मेदवार बन्न पाउने व्यवस्था कांग्रेसले गरेको छ। 

पहिलो पटक क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिको अवधि पाँच वर्ष पुगेको गणना गर्ने र सोही अनुसार गर्न गराउन केन्द्रीय निर्वाचन समितिलाई लिखित जानकारी गराउने निर्णय कांग्रेसले गरेको पौडेलले जानकारी दिएका छन्। 

पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेस गरेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, बेलायत, साइप्रस, पोर्चुगल (छुट ४० जना) र क्यानडा स्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गरेर तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न कांग्रेसले निर्देशन दिएको छ।

यस्तै क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई एक हप्ता भित्र पठाउन पनि कांग्रेसले भनेको छ। 

कात्तिक २९, २०७८ सोमबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।