अख्तियारमा प्रदेश २ का कार्यालयविरुद्ध अनियमितताको उजुरी धेरै
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सात प्रदेशका कार्यालयमध्ये प्रदेश २ अन्तर्गतका कार्यालयविरुद्ध सबैभन्दा धेरै अनियमितता भएको उजुरी परेका छन्। कुल उजुरीमध्ये प्रदेश २ बाट २४.५६ प्रतिशत उजुरी परेका छन्।
वाग्मती प्रदेशमा २२.५९ प्रतिशत उजुरी परेका छन्। कर्णाली प्रदेशका कार्यालयबारे सबैभन्दा कम ७.९८ प्रतिशत उजुरी परेको आयोगले जानकारी दिएको छ । आयोगले गत आर्थिक वर्षमा विशेष अदालतमा १ सय १४ वटा मुद्दा दर्ता गरेको थियो।
यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय र स्थानीय तहसँग सम्बन्धी अनियमितताका उजुरी सबैभन्दा धेरै दर्ता भएका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ३१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति विवरणमा देशभर परेका अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरीमध्ये स्थानीय तहसहित सङ्घीय मामिला अन्तर्गत ३२.७२ प्रतिशत र शिक्षा क्षेत्रमा १५.६१ प्रतिशत छ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार भूमि प्रशासनसँग जोडिएका उजुरीको सङ्ख्या ९.०९ प्रतिशत छ। सार्वजनिक सेवामा कार्यरत कर्मचारीले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका उजुरीको हिस्सा ५.६१ प्रतिशत रहेको रिसालले जानकारी दिए।
२०७७/७८ मा आयोग र सात प्रदेशस्थित कार्यालयमा दर्ता भएका र अघिल्लो आर्थिक वर्षबाट आएका भ्रष्टाचारसम्बन्धी उजुरीको सङ्ख्या २२ हजार ६ सय २५ छ। त्यसमध्ये १४ हजार ५ सय ३२ उजुरी फर्छ्यौट गरेको छ भने बाँकी ८ हजार ९३ उजुरीको अनुसन्धान जारी छ।
कात्तिक २९, २०७८ सोमबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।