माले महासचिवमा चुनिएका सिपीले भने' म महासचिव हुँदा तपाईँहरूलाई टाउको दुखाइ किन भयो?
काठमाडौँ : नेकपा मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले पुनः सिपी मैनालीलाई नै पार्टी नेतृत्व चयन गरेको छ। महाधिवेशनले ५९ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ।
आगामी पुसमा बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने सो पार्टीले जनाएको छ। विभाग, स्थायी कमिटी, पोलिटब्यूरो सदस्यहरू पनि सोही बैठकले चयन गर्ने जनाइएको छ।
तत्कालिन नेकपा एमालेबाट छुट्टिएर नेकपा माले पुनर्गठन गरेका मैनाली ३० वर्षदेखि पार्टी नेतृत्वमा छन्। ७० वर्ष नाघेका मैनालीलाई नेतृत्व परिवर्तन गर्ने समय आएन भन्ने प्रश्नमा उनले भने 'तपाईँहरूलाई टाउको दुखाइ किन भयो ? हाम्रो पार्टीको सबै मान्छेले तपाईँले कोर्स करेक्सन गरेर जानुभएको छ, महासचिव हुनुपर्यो भनेपछि मैले किन छोड्ने ? साथीहरू तयार हुनहुन्छ।’
मालेले प्रदेश संरचना खारेज गरेर जिल्ला र पालिका तहलाई अधिकार सम्पन्न गराउने गरी सङ्घीयता परिमार्जनको एजेन्डा समेत तय गरेको छ।
'सडे गलेको संसदीय व्यवस्थालाई खारेज गर्ने हो। अहिले नेपालमा कम्युनिस्ट गणतन्त्र आउँदैन। पुँजीवादी प्रजातन्त्र भित्रको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री। संवैधानिक राष्ट्र प्रमुख भएको परिपाटी ल्याऊँ,' उनले भने' पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ। सांसदहरू मन्त्री नहुने व्यवस्था गरौँ। उनीहरूको काम बजेट पार गर्ने कानुन बनाउने सरकारको वाचडगको मात्र काम गर्ने हो।
उनले हरेक पार्टीले विज्ञ समूहबाट नीति बनाउने र धर्म अनुकूल राष्ट्र बनाउने एजेन्डा तय गरेको जानकारी दिए।
कात्तिक २९, २०७८ सोमबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।