शेरबहादुरको ओली शैली : पार्टी कामका लागि कार्यालयभन्दा घरै प्यारो

शेरबहादुरको ओली शैली : पार्टी कामका लागि कार्यालयभन्दा घरै प्यारो

काठमाडौँ : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अधिकांश काम प्रधानमन्त्री निवास बालुवाटारबाटै गरे। पार्टीका महत्त्वपूर्ण बैठकहरू बालुवाटारमै बसे। माधव नेपाल समूहले जबरजस्ती गर्दा धुम्बाराहीमा रहेको तत्कालीन पार्टी कार्यालयमा कहिलेकाहीँ जान्थे उनी। तर त्यसले निरन्तरता पाएन।

असार २९ गते काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनले ओलीको कार्यशैलीको आलोचना गर्ने गरेका त छन् तर पार्टी सञ्चालनमा भने उनले उही ओली शैली नै अनुसरण गरेका छन्। पहिला त उनले पनि पार्टीका बैठक प्रधानमन्त्री निवास बालुवाटारमै राखेका थिए। व्यक्ति फेरिए पनि शैली उही भन्दै चर्को आलोचना भएपछि बालुवाटारमा बैठक राख्न छाडे। तर त्यो बैठक सानेपामा रहेको पार्टी कार्यालयमा सरेन। उनको निजी निवास बुढानीलकण्ठ सर्यो।

देउवा प्रधानमन्त्री भएपछि साउनको १ र २ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा बसेको थियो । त्यस बेला नेता अर्जुननरसिंह केसी महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा,  गगन थापालगायतले बालुवाटारमा पार्टी बैठक गरेकोमा नेतृत्वको आलोचना गरेका थिए।

आलोचना पछि काँग्रेसले पार्टीका औपचारिक कार्यक्रम सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय नै गरेको छ। साउन ८ मा देउवा निवास बुढानीलकण्ठमै पदाधिकारी बैठक बसेको थियो। गुटको बैठक उनले ओलीझैँ बालुवाटारमै राखेका थिए।

पार्टीको बैठक डाक्दा भने पार्टी मुख्यालय सानेपा भनेर तोकिन्छ। कात्तिक २१ मा जारी विज्ञप्तिमा २८ गते दिउँसो १ बजे पार्टी केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा बस्ने उल्लेख थियो। तर बैठक बस्यो देउवाको निजी निवास बुढानीलकण्ठमा।

प्रधानमन्त्री देउवाको समय व्यस्तताले गर्दा बैठक बुढानीलकण्ठमा बसेको देउवा निकट नेता दाबी गर्छन्। तर बालुवाटारबाट बुढानीलकण्ठ जान भ्याउने उनी सानेपा जान कसरी भ्याउँदैनन् ?

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा अहिले केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिले काम गरिरहेकाले समितिलाई काम गर्न समस्या नआओस् भनेर केन्द्रीय कार्यालयमा बैठक नराखिएको दाबी गरे।

‘केन्द्रीय समिति बैठक सानेपामा गर्दा केन्द्रीय निर्वाचन समितिको कामकाजमा डिस्टर्ब हुन्छ। त्यहाँ बैठक गर्दा करिब दुई सय मानिस भेला हुन्छन्। सञ्चारकर्मी, पार्टीका सदस्यहरूले धेरै हुन्छन्’ उनले दाबी गरे ‘महाधिवेशन आउन एक महिना पनि छैन। छोटो समयमा निर्वाचन समितिले धेरै काम गर्नुपर्नेछ। सातै प्रदेशको मङ्सिर १६ मा हुने अधिवेशनको काम पनि निर्वाचन समितिले केन्द्रबाटै गर्नुपर्नेछ।’

अनशनकारीसँग भाग्दै देउवा

काँग्रेस केन्द्रीय कार्यालयमा बैठकका लागि पर्याप्त स्थान छ। शर्माले दाबी गरेझैँ केन्द्रीय समितिको बैठक बस्दैमा समितिको काममा अवरोध हुने झैँ देखिन्न। निर्वाचन समितिका पदाधिकारी पनि यही भन्छन्। अहिले पनि केन्द्रीय कार्यालयमा पार्टीको क्रियाशील सदस्यताको विवाद समाधानको माग राख्दै पार्टीका नेता अनसनमा छन्। बरु अनसन हेर्न उनलाई अप्ठ्यारो लागेको हुनसक्छ।

केन्द्रीय कार्यालय सानेपामा १ सय १६ दिनदेखि रौतहटका नेता तथा कार्यकर्ता धर्नामा छन्। महासमिति सदस्य डा देवचन्द्र मिश्र, पूर्व स्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यादवलगायत धर्नामा छन् ।

‘रौतहटको केसले पार्टी सभापतिलाई अप्ठ्यारो हुन सक्छ भनेर हो, त्यस्तो केही होइन,’ निर्वाचन समितिका एक सदस्यले उकेरासँग भने।

‘१ सय १६ दिनसम्म सभापतिको देउवाको अनुहार देखिएको छैन। संस्थापन पक्षका नेताहरू पनि बेवास्ता गरेर हिँड्थे, अहिले त पहिले सहयोग गर्छौ भनेका संस्थापन इतर पक्षका नेताहरू पनि आएका छैनन्,’ डा मिश्रले उकेरासँग भने।

निर्वाचन समितिका अनुसार रौतहटमा निर्वाचन प्रक्रिया चलिरहेको छ। ‘रौतहटमा क्रियाशील विवाद समाधान भइसक्यो भनियो तर हामीलाई थाहा नै छैन । रातारात २ दिन पहिलो निर्वाचन अधिकृत गए,’ डा मिश्रले थपे। जिल्ला पार्टी सभापति कृष्णप्रसाद यादवको लिस्टलाई सदर गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको अनशनरतहरूको भनाइ छ। रौतहटका १३ जना वडा सभापतिहरूलाई जानकारी बिना नै क्रियाशीलता विवाद मिल्यो भनिएको छ। 

आइतबार बसेको केन्द्रीय समितिको बैठक निर्वाचन अगाडिको अन्तिम बैठक हुनसक्ने नेता बताउँछन्। देउवा पार्टीको समस्या समाधान गर्ने भन्दा पनि त्यतिकै पेलेर महाधिवेशनमा जाने तयारीमा लागेको पार्टीका वरिष्ठ नेताहरूले नै आरोप लगाइरहेका छन्।

आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यालयमा बैठक नबस्नुको कारण खुलाउँदै ' रौतहटका कार्यकर्ताको अनशनबाट पार्टी नेतृत्व भाग्नुपर्ने अवस्था आएको' बताएका थिए।

‘रौतहटका कार्यकर्ता १ सय १६ दिनदेखि अनसनमा बसेका छन्। सोही कारण हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौँ। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो?’ पौडेलको प्रश्न थियो।

जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउने तर नेताहरू बुढानीलकण्ठमा बस्ने गरेको भन्दै उनले टाउको लुकाएर कति दिन हिँड्ने भन्दै देउवालाई प्रश्न राखेका थिए।

तर प्रवक्ता शर्मा  देखिएका विवादहरू वार्ताबाटै हल भएको र अब पनि वार्ताबाटै समाधान हुने दाबी गर्छन्। रौतहटमा विधान विपरीत क्रियाशील सदस्यता दिइएकोमा खारेज हुनुपर्ने माग अनशनकारीहरूको छ। तर उनीहरूका माग सुनुवाइ नगरी क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकिएको छ। माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने उनीहरूले चुनौती दिइरहेका छन्। 

कात्तिक २९, २०७८ सोमबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।