विप्लवको नेपाल बन्दमा पनि बारको आन्दोलन नरोकिने

विप्लवको नेपाल बन्दमा पनि बारको आन्दोलन नरोकिने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताका लागि गरेको आव्हान अस्वीकार गर्दै राजीनामा बाहेक विकल्प नभएको भन्दै आन्दोलनलाई जारी राख्ने निर्णयमा पुगेको बारले मङ्गलवार कालो कोट, नेपाल बारको लोगो र  परिचय पत्र देखिने गरी लगाएर सर्वोच्च अदालतमा उपस्थित हुन कानुन व्यवसायीहरूलाई आग्रह गरेको छ।

महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा सहभागी हुन आउने कानुन व्यवसायीलाई आन्दोलनको आव्हानकर्ताबाट अवरोध नहुने अनौपचारिक सहमति भएको भन्दै आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ।

विज्ञप्तिमा न्यायपालिकाको विकृति, विसङ्गति, बिचौलिया, भ्रष्टाचार नियन्त्रण र सुदृढीकरणमा प्रधानन्यायाधीश राणा बाधक रहेको भन्दै राजीनामा मागिएको उल्लेख छ।

राणाको राजीनामा नआएसम्म आन्दोलन जारी नै रहने बारले जानकारी दिएको छ। सोमबार विरोध प्रदर्शनकाक्रममा सर्वोच्च प्रशासनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर लाठी र बुट प्रहार गरेको र प्रहरीको प्रहार र बुटले हान्दा बारका उपाध्यक्ष सुरेन्द्र थापा मगर, काठमाडौँ बार इकाई समितिका सदस्य वीरेन्द्र पाठक घाइते भएको बारले जानकारी दिएको छ। प्रहरीले माइक खोसेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक २९, २०७८ सोमबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।