बर्थ डे पार्टीमा खुकुरी हानाहान हुँदा एक जनाको ज्यान गयो

बर्थ डे पार्टीमा खुकुरी हानाहान हुँदा एक जनाको ज्यान गयो

विराटनगर : बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ पार्टीमा दुई समूहबिच भएको विवादमा एक जनाको हत्या भएको छ। विवाद बढ्दै गएपछि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भयो भने २ जना घाइते भएका छन्।

नानु लिम्बुको घरमा भएको बर्ड–डे खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट धनकुटा, पाख्रीबासका २६ वर्षीय रिजन दाहालको मृत्यु भयो। घाइते भएका दाहाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू घाइते छन्। उनीहरू छुटाउन जाँदा खुकुरीले लागेर चोट लागेको हो।

बूढीगंगा–६ का धनबहादुर तामाङ, लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का राजु तामाङ लगायत छ/सात जनाको समूहले दाहाल र थापामाथि खुकुरी प्रहार गरेको स्थानीयको दाबी छ।

पहिल्यैदेखि रहेको विवाद बर्थ डे पार्टीमा पनि सुरु भएपछि तामाङसमुहले एक्कासि खुकुरी हानेको स्थानीयको दाबी छ। प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा केही युवालाई नियन्त्रणमा लिए पनि विवरण भने खुलाएको छैन।

कात्तिक २९, २०७८ सोमबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।