मुस्ताङकाे हिमपहिराेमा परी १२० चाैरी बेपत्ता, ११ जना सामान्य घाइते

मुस्ताङकाे हिमपहिराेमा परी १२० चाैरी बेपत्ता, ११ जना सामान्य घाइते

मुस्ताङः जिल्लाकाे मानापाथी हिमालबाट खसेकाे हिमपहिराेमा परी १२० चाैरी बेपत्ता भएका छन्। थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका हुन्।

यस्तै हिमपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाअध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए। उनका अनुसार भागदौड मच्चिदा जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी सामान्य घाइते भएका छन्। उनीहरू हाल जोमसोममा उपचारपछि घर फर्किसकेका छन्।

यस्तै हिमपहिराे गएकाे क्षेत्रमा रहेका गाेठालाहरू सुरक्षित भएकाे र सम्पर्कमा रहेकाे बताइएकाे छ।

हिमपहिरोका कारण जङ्गल क्षेत्रमा रुख ढलेका छन् भने वन्यजन्तुको बासस्थानमा पनि क्षति पुगेको छ। यस्तै बोस्की खोलामा पानीको सतह बढेको र बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो।

नाउरीकोट गाउँमा हाल हिउँ पग्लिएर हिलाम्ये भएकाे र घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि क्षति पुगेको छ।

हाल क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए। आइतबार दिउँसाे ११ः४० मा हिमपहिराे आएपछि भागाभाग भएको थियो।

कात्तिक २९, २०७८ सोमबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।