कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोडमा दश हजार दर्शक क्षमताकाे रङ्गशाला निर्माण गर्ने
सुर्खेतः कर्णालीे प्रदेश सरकारले रङ्गशाला निर्माण गर्ने भएकाे छ। राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँकाे लगानीमा रङ्गशाला निर्माण गरिने भएकाे हाे।
प्रदेश सरकारको लगानीमा निर्माण हुने रङ्गशाला १० हजार दर्शक क्षमताकाे हुनेछ। साथै भूकम्प प्रतिरोधी प्यारापिट बन्नेछ भने अण्डरग्राउण्ड पार्किङसहित विभिन्न अन्तर्राष्ट्रिय स्तरकाे कक्ष हुनेछन्।
आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी÷जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। त्यसक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले पहिलाे प्रदेश गाैरवकाे आयाेजनाका रूपमा ठूलो लगानी गरेर रङ्गशाला निर्माणको कार्यलाई अगाडि बढाएको बताए।
उनले भने, “यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु।”
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले रङ्गशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए। उनका अनुसार रङ्गशाला निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ।
कात्तिक २९, २०७८ सोमबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।