आज हरिबाेधिनी एकादशी, बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले दिए सार्वजनिक बिदा

आज हरिबाेधिनी एकादशी, बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले दिए सार्वजनिक बिदा

काठमाडाैंः प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबाेधिनी एकादशी आज परेकाे छ। तुलसी विवाह पनि भनिने यस दिनमा तुलसीकाे पूजाआजा गरिने चलन छ।

आजका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरिने चलन छ। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ।

आज हरिबाेधिनी एकादशीका अवसरमा काठमाडाैंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्। बूढानीलकण्ठ नगरपालिकाभित्र प्रसिद्ध बूढानीलकण्ठकाे मन्दिर भएकाले यस क्षेत्रमा आजकाे दिन विशेष मेला लाग्ने गर्दछ।

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ।

यस्तै नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले साे नगरपालिकामा पनि हरिबाेधिनी एकादशीका अवसरमा बिदा दिइएकाे बताइन्।

नगरपालिका क्षेत्रभित्र इचङ्गुनारायण मन्दिर रहेकाे र यस मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने भएको हुनाले बिदा दिइएकाे हाे।

यस्तै तनहुँकाे व्यास नगरपालिकाले पनि हरिबाेधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएकाे छ।

कात्तिक २९, २०७८ सोमबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।