देउवाले रोक्न खोजेपछि गगन थापाले भने- कांग्रेस भाग्ने होइन

देउवाले रोक्न खोजेपछि गगन थापाले भने- कांग्रेस भाग्ने होइन

काठमाडौं : नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकमा अदालतको विषयले प्रवेश पाए पनि पार्टी सभापति शेरबहादुर देउवाले सो विषयमा बोल्न खोज्ने केन्द्रीय सदस्यलाई रोकेका छन्। 

केन्द्रीय सदस्य गगन थापाले ‘म समसामयिक विषयमा बोल्छु, अदालतमा समस्या छ’ भन्नासाथ सभापति देउवाले भनेका थिए, 'हुँदैन, अहिले समसामयिक विषयमा बोल्ने होइन।'

देउवाले थापालाई रोक्ने प्रयास गरेका थिए। तर थापाले भने देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने न्यायालयको विवादमा पार्टी र सरकार मौन बस्न नहुने बताए। 

'सर्वोच्च अदालत गत ८ गतेदेखि नै विवादमा फस्दा जनताको न्याय पाउने अधिकार बन्धक भएको छ। जनअधिकारका लागि बनेको कांग्रेसले यसबाट भागेर हुँदैन,' थापाले भने, 'सर्वोच्चका विवादका विषयमा पार्टीले निर्णय गर्नुपर्छ। सत्तारुढ र प्रतिपक्षी दलसँग पनि छलफल थाल्नुपर्छ।'

उनले त्यसो नगरे पार्टीको भूमिकाका विषयमा जनताबाट प्रश्न उठ्ने बताएका थिए। 

बैठकका बारेमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अदालतको विषयमा छलफल नहुने जानकारी दिएका थिए।

कात्तिक २८, २०७८ आइतबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।