तिनाउको बहाव क्षेत्रमै आलिसन घर, भोट गुम्ने डरले बोल्दैनन् दल

तिनाउको बहाव क्षेत्रमै आलिसन घर, भोट गुम्ने डरले बोल्दैनन् दल

बुटवल : वारि र पारि बुटवलको सीमा भएर बग्ने तिनाउ नदी वर्षेनी अतिक्रमणको चपेटामा परेको छ। तिनाउको बहाव क्षेत्रमै ठूला-ठूला घरहरु बनेका छन्।

तिनाउ नदीले उकासेको क्षेत्रमा आलिसान भवन बनिरहे पनि त्यसलाई नियन्त्रण गर्नुको साटो उपमहानगरपालिकाले आधारभूत सेवा-सुविधाका नाममा वैधता दिने काम गरिरहेको छ।

मानवीय अतिक्रमणका कारण तिनाउ नदी खुम्चिँदै गएको छ। २०४९ सालदेखि सुरु भएको नदी किनारको अतिक्रमण अहिले पनि जारी छ। बुटवलको हात्तिसुढ, तिनाउ पुल, मजुवा लगायतका बस्ती तिनाउ अतिक्रमण गरेरै बनेका हुन्।

अहिले पनि पुरानो बटौली र वारि बुटवललाई जोडेको तिनाउ पुलका ३ पिल्लर (स्पान) घेर्ने गरी पुलमुनि ठूला भवन बनिरहेका छन्। ५ वटा पिल्लर (स्पान) माथि बनेको पुलमुनि अहिले बस्तीले ढाकिएको छ। 

नदीको बहाव क्षेत्रमा ठूला भवन बनाउन रोक्ने काम उपमहानगरपालिकाले गरेको छैन। बरु त्यही ठाउँमा विद्युत विस्तार, खानेपानी, सडक पूर्वाधार बनाएको छ।

पुलमुनिको आधाभन्दा बढी भागमा बस्ती बसेपछि तिनाउमा आउने बाढीको भार दुई वटा स्पानले मात्रै थेगिरहेका छन्। पुलको पूर्वतर्फको बगरमा बस्ती थपिँदै जाँदा खोला पश्चिमतर्फ धकेलिँदै गएको छ। जसले गर्दा खोला बग्दै गएको भागको स्पानको फाउन्डेसन कमजोर बन्ने जोखिम बढेको छ।

‘जब तिनाउ नदी अतिक्रमण भई पानी बग्ने ठाउँमा घर बने, नदीले धार बदल्न बाध्य भयो। अहिले ठूला संरचनाले तिनाउ बग्ने स्थान खुम्चिएको छ। यसले अझ ठूलो जोखिम निम्त्याउन सक्छ,’ तिनाउ नदीलाई सात दशकदेखि नियालिरहेका पुरानो बुटवलका रविन्द्र गोपाल लाकौल भन्छन्।

स्थानीय सरकारले खोलामुनि बस्ती बसाउन नरोक्ने हो भने गेग्रिन थुप्रिएर रुख उम्रिएको अर्को स्पानसम्म पनि बस्ती बस्ने जोखिम बढेको उनको भनाइ छ।

बढ्दो जनघनत्वका कारण तिनाउ नदी फोहोर विर्सजनको थलो मात्र बन्यो। तिनाउका जलचर, थलचर लोप भए। जब पूर्व-पश्चिम राजमार्ग बन्न थाल्यो, तिनाउ किनारमा अतिक्रमण बढ्दै गएको लाकाैलकाे भनाइ छ।

अहिले पनि लाकौललाई तिनाउ नदीमा माछा पाइने गरेको र पौडी खेलेको याद छ। २०४० सालमा कलकल बग्दै गरेको नदीमा पौडी खेलेका लाकौल अहिलेको तिनाउ नदीको स्वरुप हेर्दा दुःखी छन्।

अहिले तिनाउ नदी हिउँदमा सुख्खा हुन्छ, बर्खामा बाढी आउँछ। त्यही बाढीले वर्षेनी तिनाउ नदी किनारका केही स्थान कटान गरिरहेको छ। अहिले कटान भइरहेको मजुवा, हात्तिसुढ लगायत नदीजन्य पदार्थ निकाल्दा नदीले कटान गर्दै उकासको भाग छाडेको र त्यही ठाउँमा सुकुम्बासीले बसालेका बस्ती हुन्।

मुलतः बुटवलका प्रगतिनगर, हात्तिसुढ, पवित्रानगर, तिनाउ नगर, टप मजुवा, दुर्गानगर, बुद्धनगर नदी उकास क्षेत्रमा बसेका बस्ती हुन्। २०४९ सालमा सामान्य बस्ती बस्न सुरु गरे पनि २०५४ सालपछि नदी उकास क्षेत्रमा बस्ती बाक्लो बस्न थालेको उनले बताए।

‘वर्षायाममा मात्र होइन, हिउँदमा पनि तिनाउ नदी सुसाएर बग्ने गर्दथ्यो। पानीले बगर ढाक्थ्यो। तर अहिले यो खहरे खोला बनिसक्यो। घरहरु नदी किनारमै बन्न थाले,’ लाकौलले भने।

हरेक पूर्वाधार विकासका काममा प्रयोग हुने नदीजन्य पदार्थको प्रमुख स्रोत मानिएको तिनाउ २०५२ सालबाट अव्यवस्थित उत्खनन् हुँदा नदीको आकार बदलिएको बुटवल उपमहानगरपालिका-११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। पहिले साढे दुई सय मिटर चौडाइको विशाल आकारमा फैलिएर बग्ने तिनाउ अहिले ५० मिटरमा खुम्चिएको उनको भनाइ छ।

बुटवल उपमहानगरपालिकाले हालै सावर्जनिक गरेको तथ्यांकअनुसार नगर क्षेत्रभित्र १६ हजार ५ सय घरधुरी सुकुम्बासी छन्। त्यसमध्ये सबैभन्दा बढी सुकुम्बासी वडा नम्बर ११ मा छन्। यो वडामा ६ हजार ५ सय ५० घरधुरी सुकुम्बासी छन्। त्यसपछि बढी सुकुम्बासी वडा नं. १२ मा बस्छन्। 

वडा नं. ११ का अधिकांश सुकुम्बासी नदी किनारमै छन्। तिनाउ नदीको पूर्व र पश्चिमतर्फको बगरसँग जोडिएका बुटवलका वडा नं. १, २, ३, ५, ६, ९, ११, १८ र तिलोत्तमा नगरपालिकाको वडा नं. ३ सम्म तिनाउको पानी बग्ने स्थानसम्मै पुगेर घर-टहरा निर्माण गरिएका छन्।

त्यसो त बुटवलको राजनीतिमा निर्णायक मानिएको बुटवल वडा नं. ११ मा रहेका अव्यवस्थित सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्न वा रोक्न राजनीतिक दलहरु तयार हुँदैनन्। निर्वाचनका बेला भोट बैंक बनाउने दलहरुले लालपुर्जा र व्यवस्थित बस्तीको ‘सपना’ बाँड्छन्।

‘त्यहाँका जनतालाई चिढ्याउनु भनेको निर्वाचनमा हार्नु हो भन्ने ठानेर योजनाका पुलिन्दा बाँडिन्छ। अनि त्यही ठाउँमा आधारभूत पूर्वाधार निर्माण गर्न दलहरुले बजेट छुट्याउँछन्। त्यही कारण अव्यवस्थित बसाइले झन् वैधानिकता पाएको छ,’ अर्थशास्त्रका जानकार मनिकर कार्कीले भने।

तिनाउ नदीबारे अध्ययन गरेका इन्जिनियर खेटराज दाहाल नदी गहिरिँदै गर्दा बगरको उकास देखिएको तर तिनाउ नदी किनार नदी उकास भने नभएको बताउँछन्। ‘नदीको बहाव सुकेर गयो। धेरै नदीजन्य पदार्थ निकालियो। नदी गहिरियो। त्यसैले बगरको उकास देखिएको हो। नदी भने उकास होइन,’ उनले भने, ‘नदी गहिँरिदा केही फाइदा पनि भयो, केही घाटा पनि भयो।’ उनले नदी किनारका बस्तीमा उपमहानगरपालिकाले योजना छनोट गरेर गल्ती गरेको समेत बताए।

अहिले पनि जनप्रतिनिधिले भोटकै लोभका कारण नदीले चर्चेको कतिपय ठाउँमा बजेट खन्याइरहेको उनको भनाइ छ।

२०४०/०४५ सालमा तिनाउ नदीले शंकरनगर, मोतिपुर, अमुवा, बेथरीसम्म दायाँबायाँका भूभाग डुबाउने गरे पनि विस्तारै नदीजन्य पदार्थ निकाल्दा बस्ती डुबान हुन छाडेको र सरकारलाई पनि आयस्रोतको माध्यम भएको उनले बताए।

‘राज्य र जनतालाई केही फाइदा त भयो। तर वातावरणीय समस्या निम्तियो। स्यालो ट्युबबेलमा पानी सुक्न थाल्यो। जमिनमुनि पानीको लेयर घट्यो। सुक्खापन भयो। र, उत्पादनमा समेत कमी हुन थाल्यो। नदी गहिरिँदै जाँदा बगर उकास क्षेत्रमा बस्ती बस्न थाले,’ उनले भने।

जनप्रतिनिधि आएपछि नयाँ बस्ती बसेको छैन
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकार गठनपछि कुनै पनि ठाउँमा नयाँ सुकुम्बासी बस्ती नबसेको बताए। जनप्रतिनिधि नआउँदै रहेको अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन उपमहानगरपालिका लागेको उनको भनाइ छ। नयाँ अव्यवस्थित बस्ती नबसे पनि त्यहाँका नागरिकलाई आधारभूत सेवा दिनुपर्ने उपमहानगरपालिकाको दायित्व रहेको उनले बताए।

‘टोल, वडा हुँदै योजना छनोट बनेर यहाँ आइपुग्छन्। आवश्यकताका आधारमा हामीले बजेट विनियोजन गर्ने गरेका छौं,’ उनले भने।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर जयलाल मरासिनी भने खोलाको आधाभन्दा बढी भाग अतिक्रमण हुनु गलत भए पनि वेल फाउन्डेसपछि मात्रै पुलको स्पान बनाइएकोले अहिले नै पुल जोखिममा नपरेको  बताए। उनले यसैगरी नदी अतिक्रमण भइरहे ठूलो दुर्घटना हुनसक्ने र समधानका लागि स्थानीय तह गम्भीर हुनुपर्ने बताए।
 

कात्तिक २८, २०७८ आइतबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।