कर्णालीमा काेराेना: ३३ जना मात्रै सक्रिय संक्रमित, ५ जिल्लामा शून्य संक्रमण

कर्णालीमा काेराेना: ३३ जना मात्रै सक्रिय संक्रमित, ५ जिल्लामा शून्य संक्रमण

सुर्खेतः कर्णाली प्रदेशमा ३३ जना मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै प्रदेशका ५ जिल्लमा संक्रमण शून्य रहेकाे छ। 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार शनिबारसम्म प्रदेशका पाँचवटा जिल्ला कालीकोट, जाजरकोट, डोल्पा, मुगु र हुम्लामा संक्रमण शून्य रहेको छ। यस्तै सुर्खेत, सल्यान, दैलेख, रुकुमपश्चिम र जुम्लामा कोरोना संक्रमितको संख्या केही मात्रामा भए पनि विगतभन्दा संक्रमण दर घटेको छ।

‘३० जना होम आइसोलेसनमा र तीन जना अस्पतालमा उपचारत छन्। पाँच जिल्लामा त कोरोना संक्रमणको दर शून्य नै छ’, निर्देशक खड्काले भने, ‘विगतको तुलनामा संक्रमण घटे पनि जोखिम कायमै रहेका कारण आवश्यक सावधानी अपनाउन जरुरी छ।’

सुर्खेतमा ११ जना संक्रमित होम आइसोलेसनमा र एक जना प्रदेश अस्पतालमा उपचारत छन्। दैलेखमा एक जना, सल्यानमा १३ जना, रुकुमपश्चिममा तीन जना होम आइसोलेसनमा छन्।

यस्तै जुम्लामा दुई जना होम आइसोलेसन र दुई जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत छन्। 

कोरोना संक्रमितको संख्यामा कमी आएसँगै प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका सबै आईसीयू र भेन्टिलेटर बेड खाली रहेका छन्। कोरोना संक्रमितका लागि प्रदेशभर छुट्याइएका ५७ आईसीयू र ३७ वटा भेन्टिलेटर खाली छन्।  

कर्णाली प्रदेशमा हालसम्म ३३ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। निर्देशनालयले दिएको तथ्याङ्कअनुसार अहिलेसम्म ३२ हजार १०७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

कात्तिक २८, २०७८ आइतबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।