सर्वाेच्च अदालतमा आज मूलगेटभित्रै कानून व्यवसायीकाे धर्ना
काठमाडाैंः कानून व्यवसायी तथा नेपाल बार एसाेसिएसनले आज सर्वाेच्च अदालत परिसरभित्रै धर्ना दिएकाे छ। प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै झण्डै दुई सातायता आन्दाेलनरत कानून व्यवसायीहरूले आज अदालत परिसरभित्रै धर्ना दिएका हुन्।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई अदालत प्रवेश गर्न नदिने भन्दै शुक्रबार पनि कानून व्यवसायीहरूले सर्वाेच्चकाे मूलगेटअघि धर्ना दिएका थिए। तर प्रधानन्यायाधीश राणा चाेरबाटो हुँदै अदालत प्रवेश गरेका थिए। आज भने कानून व्यवसायीहरू सुरक्षाकर्मीकाे घेरा ताेड्दै अदालतभित्रै प्रवेश गरेका छन्।
आज कानून व्यवसायीहरूले सर्वाेच्चका अन्य वैकल्पिक गेटमा पनि धर्ना दिने बताएका छन्। यस्तै बार एसाेसिएसनका महासचिव लीलामणि पाैडेलले सर्वाेच्च अदालत परिसरमा नियमित दरबन्दीबाहेकका सुरक्षाकर्मीहरूलाई तत्काल अदालत प्रवेश गर्न राेक्नपर्ने भन्दै विज्ञप्ति जारी गरेका छन्।
नेपाल बार एसाेसिएसनसहित कानून व्यवसायीहरूले प्रधानन्यायाधीश राणाकाे राजीनामा माग गर्दै गत कात्तिक १४ गतेदेखि विराेध तथा धर्ना गर्दै आएका छन्।
कात्तिक २८, २०७८ आइतबार १०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।