भारतमा आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना पुरस्कृत
काठमाडाैंः नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक भारतमा पुरस्कृत भएका छन्। भारतकाे हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका हुन्।
पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरू अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन्। थापालाई 'द बीएसएफ ट्रफी फर प्राेफिसिएन्सी इन आउटडोर सब्जेक्ट्स', रावतलाई 'द जयपुर कप फर पीटी फर जेन्टलम्यान प्राेबेसनर्स' र धिताललाई 'द जयपुर कप फर पीटी फर लेडी प्राेबेसनर्स' उपाधीसहित पुरस्कृत गरिएको हो।
सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए।
दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो। सन् २०२० डिसेम्बर २८ देखि सुरु भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरू किरण रावत, अनिल थापा, सुवास खतिवडा, होम नाथ रेग्मी र सिमोन धिताल गरी ५ जनाकाे सहभागिता रहेको थियो।
कात्तिक २८, २०७८ आइतबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।