'मुन्द्रे' र 'फुलन्देकी आमा' को झगडा चर्कँदै, मुन्द्रेको क्वलको ठाउँमा अब फुलन्दे कमेडी क्लब आउँदै

'मुन्द्रे' र 'फुलन्देकी आमा' को झगडा चर्कँदै, मुन्द्रेको क्वलको ठाउँमा अब फुलन्दे कमेडी क्लब आउँदै

काठमाडौँ : भारतीय हास्य कलाकार कपिल शर्माको कार्यक्रमको फर्म्याटमा आए पनि ‘मुन्द्रेको कमेडी क्लब’ ले राम्रै दर्शक पाइरहेको थियो। जजमा रहेको दीपाश्री निरौलाको स्थानमा करिश्मा मानन्धर ल्याउँदा मात्र यो विवादमा आएको थियो।

तर अहिले एकाएक यसका निर्माता जितु नेपालले सो बन्द गर्ने घोषणा गरिदिए। अनि कार्यक्रम बन्द गर्नुको कारण फुलन्देकी आमा बनेका कलाकार उमेश राई।

पत्रकार सम्मेलनै गरेर उनले आफ्नो सो राम्रोसँग चल्दाचल्दै राईले उही क्यारेक्टरमा अर्को रियालिटी शोमा काम गर्न सम्झौता गरेकाले कार्यक्रम बन्द गर्न लागेको दाबी गरेका थिए। तर अर्को कार्यक्रममा राईले होस्ट मात्र गर्न लागेका थिए। कार्यक्रम थियो डान्स च्याम्पियन।

पत्रकार सम्मेलन गरेरै धोका दिएको आरोप लागेपछि राईले पनि टिकटिकमार्फत प्रष्टिकरणदिँदै सल्लाह गरेरै अर्को कार्यक्रममा होस्ट बन्न सहमति गरेको दाबी गर्दै कार्यक्रमको फर्म्याटै अलग भएकाले त्यही कारण कार्यक्रम बन्द गर्नु नपर्ने बताएका थिए।

तर 'मुन्द्रे' र 'फुलन्देकी आमा'को लफडा यतिमै मात्र सकिएन। कि इन्टरटेनमेन्टले जितु नेपालका लागि नेपाल टेलिभिजनसँग किनेको समय अझैँ बाँकी छ। बिचैमा कार्यक्रम बन्द भए पनि किनेको समयको पैसा त तिर्नुपर्यो।

अब त्यसको विकल्पमा उनै राइलाई लिएर ‘फुलन्दे स्पेसल कमेडी क्लब’ ल्याउने तयारी गरेको छ। कार्यक्रमको नाम परिवर्तन गरिए पनि फर्म्याट र सेट भने उस्तै राख्ने तयारी गरिएकाले राई र जितुबिचको आरोप-प्रत्यारोप अझै लम्बिने देखिन्छ।

कात्तिक २७, २०७८ शनिबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।