प्रधानन्याधीशबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न काँग्रेस नेताको सुझाव

प्रधानन्याधीशबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न काँग्रेस नेताको सुझाव

काठमाडौँ : प्रधानन्यायाधीशको राजीनामा माग्दै सुरु भएको वकिलहरूको आन्दोलनप्रति पार्टी नेतृत्व मौन बसेको बेला नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले समस्या समाधानको नयाँ अवधारणा ल्याएका छन्।

राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग अगाडि बढिरहेको बेलामा उनले समस्या समाधानका लागि आयोग गठन गर्नुपर्ने प्रस्ताव अगाडि ल्याएका हुन्।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ प्रदेश (क) को कार्यक्रममा शनिवार बोल्दै उनले न्यायालयको झगडा अन्त्य गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने सुझाव दिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनमार्फत दैनिक आन्दोलन भइरहेको छ। उनको विपक्षमा रहेका न्यायाधीशहरू इजलासमा नबस्दा बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत प्रभावित भइरहेका छन्।

न्याय क्षेत्र अस्तब्यस्तहुँदा पनि प्रमुख दल मौन बस्दा नागरिक समाजबाट विरोध हुँदै आएको छ।

प्रधानन्यायाधीश राणा भने समस्या समाधानभन्दा मुठभेडतिर लम्कँदै वकिलहरूले सर्वोच्च अदालत प्रवेश गर्न रोक्दा पनि वैकल्पिक बाटोबाट अदालत गएका थिए।

महाअभियोगको विकल्पमा राणाको कार्यकालमा भएका बदमासीको छानबिन गर्न उच्चस्तरीय आयोग गठनबारे समेत चर्चा भए पनि यसले गति भने लिएको छैन। सरकारमा रहेका दलहरू सकेसम्म यो समस्या आन्तरिक रूपमै समाधान होस् भन्ने पक्षमा देखिएका छन्।

नेता केसीले न्यायालयभित्रको झगडामा सरकार बोल्नुपर्ने बताउँदै समस्या समाधानका लागि आयोग गठन गर्न सरकार तत्पर हुनुपर्ने बताएका थिए।

कात्तिक २७, २०७८ शनिबार २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।