कांग्रेसले आइतबार महाधिवेशनको संशोधित तालिका अनुमोदन गर्ने, न्यायालयको विवादमा खुलेनन् प्रवक्ता शर्मा
काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठकले आइतबार बस्ने केन्द्रीय समितिमा छलफल गर्ने एजेन्डा तय गरेको छ।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आइतबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
केन्द्रीय समिति बैठकले पार्टीको निर्वाचन समितिले पार्टीको १४ औँ महाधिवेशनको परिवर्तन गरेको कार्यतालिकालाई अनुमोदन गर्ने शर्माले बताए। समितिले महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।
जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम केन्द्रीय समितिले अनुमोदन गर्ने प्रवक्ता शर्माले बताए। उनले पार्टीको सबै ध्यान महाधिवेशनतर्फ केन्द्रित भएको बताए। न्यायालयभित्रको विवादबारे प्रवक्ता शर्माले टुङ्गोमा पुगेपछि जानकारी गराउने जवाफ दिए। उनले न्यायालयको विवादबारे छलफल भए नभएको केही बताउन चाहेनन्।
उनले अब कतै व्यवहारिक कठिनाइ आए पनि महाधिवेशनको यात्रा नरोकिने बताए।
कात्तिक २७, २०७८ शनिबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।