डा पशुपतिबाबुको सुख-दुख : अस्पतालको वार्डमा अँगार जस्तै भएर जलेका बिरामी आइपुग्दा ...
करिब पाँच वर्ष अघिको घटना हो। ५५ वर्षकी महिलाको साडी आगोमा सल्किएर पछाडिको हिपको भाग र तिघ्रा जलेको थियो। घाउ गहिरो थियो। तर जलेको भाग धेरै थिएन। करिब १० प्रतिशत शरीरको भाग जलेको थियो। उनी उपचारका लागि वीर अस्पतालमा हिँड्दै पुगेकी थिइन्। अस्पतालले उनलाई भर्ना गर्यो।
सह–प्राध्यापक तथा बर्न एन्ड प्लास्टिक सर्जन डा. पशुपति बाबु पोखरेलको समूहले जलेको भागको शल्यक्रिया गर्यो। जलेर कुहिएको भागको छाला ताछेर फाले। जलेको भागमा शरीरको नजलेको भागबाट छाला ल्याएर टालिदिए। महिलाको उपचार सफल हुनेमा डा. पशुपतिको टिम विश्वस्त थियो।
अस्पतालको वार्डमा उपचारको क्रममा नै महिलालाई ज्वरो आयो। श्वास फेर्न गाह्रो भयो। उनलाई वार्डमै सङ्क्रमण भयो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गयो। डा. पशुपतिको टिम उनलाई बचाउन लागिरहेको थियो। तर टिम सफल भएन।
‘थोरै पोल्दा पनि उहाँ (५५ वर्षीय महिला)लाई बचाउन सकिएन,’ उनले भने' चिनजानकै ती महिलाको ज्यान बचाउन नसकेको क्षण सम्झँदा अहिले पनि मन चसक्क हुन्छ।'
उपचार पद्धति एउटै हो। तर बर्न वार्डभित्र चिकित्सक र अन्य छिर्दा अलि बढी सावधानी अपनाउनु पर्छ। बर्न वार्डमा छिर्दा गाउन लगाउने, बिरामीका आफन्त छिर्न नपाउने, चिकित्सकले पनि बाहिर लगाएको लुगा छोपेर लगाउनेजस्ता राम्रो व्यवस्थापन हुनुपर्छ।
डा. पशुपति बाबुले सुनाए,‘विदेशतिर चाहिँ बर्न वार्डमा छिर्नलाई गाउन लगाउनु पर्छ, भिजिटर छिर्नै पाउँदैन।’
नेपालमा अझ विशेष सरकारी अस्पतालमा बिरामी राखेको वार्डमा जथाभाबी छिर्दा सङ्क्रमणको जोखिम हुने गरेको उनले सुनाए। बिरामीको चाप तथा आफन्त (भिजिटर) अस्पतालको वार्डमा धेरै ओहोर दोहोर गर्दा बिरामीलाई सङ्क्रमणको जोखिम बढी हुने डा. पशुपति बाबुले सुनाए। उनले भने,‘नेपालका अस्पतालमा वार्डको व्यवस्थापनमा कठिन हुने रहेछ। अनि वार्डमा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ।’
वार्डमा जो पायो त्यसलाई छिर्न दिन नहुने पक्षमा छन् उनी। यति मात्र गर्न सके पनि सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या घट्न सक्ने उनी बताउँछन्।
वार्डहरू खुल्ला राख्ने र सजिलै आफन्त (भिजिटर) लाई बिरामीलाई भेट्न दिने काम बन्द गर्नुपर्ने बताउँछन् उनी। बिरामी भेट्न पुग्ने आफन्तलाई छुट्टै राख्ने व्यवस्था नभएकाले पनि यस्तो समस्या भएको उनी बताउँछन्। अप्रेसन थिएटरको कमीका कारण भनेको समयमा अप्रेसन नहुने अर्को समस्या छदैछ।
जलनका बिरामीको शल्यक्रिया गर्ने अप्रेसन थिएटर, वार्ड, आइसियु छुट्टै भए अस्पतालमा भर्ना भएका बिरामीलाई सङ्क्रमणको जोखिमबाट बचाउन सकिने र उपचार पनि सहज हुने उनको अनुभव छ।
जलनको उपचार पद्धति महँगो भएकाले जलनका बिरामीका लागि सरकारले उपचार खर्च दिनुपर्ने डा. पशुपति बाबु बताउँछन्। उनले भने,‘प्रायः जलन गाउँघरतिर गरिब ठाउँमा हुन्छ। उपचार पद्धति महँगो छ। धेरै पटक अप्रेसन गर्नुपर्छ।’
चीनमा अँगार जस्तो भएर जलेका बिरामी अस्पताल पुग्दा...
उपचारका क्रममा अस्पतालको वार्डमा सङ्क्रमणका कारण महिलाको मृत्यु भएको घटनापछि डा. पशुपति बाबुले चीनमा एमएस वर्ड एन्ड प्लास्टिक सर्जरी विषय अध्ययन गर्दा जलेका बिरामीको उपचार गरेको प्रसङ्ग सुनाए।
उनी चीनमा अध्ययन गर्दा करिब ७०-८० प्रतिशत जलेका बिरामी अस्पतालले बचाउन सफल भएका थिए। कोइला खानी भत्किएर सयौँ बिरामी अस्पताल पुगेका थिए। अस्पताल पुर्याइएका करिब ३० जना बिरामी त पुरै जलेर ठुटो जस्तो भएको देखे उनले।
उनले सुनाए,‘२५-३० जना पुरै अँगार जस्तो भएर जलेका थिए। जलाउँदा जलाउँदैको मुर्दा अस्पताल लिएर आएको जस्तो देखिन्थे उनीहरू।'
डा. पशुपति बाबु पनि बिरामीको उपचारमा संलग्न भए। जलेर अस्पताल पुगेका बिरामीलाई आपतकालिन अवस्थामा तुरुन्तै उपचारको व्यवस्थापन गरेको देखेर डा. पशुपति बाबु निक्कै प्रभावित भए। जलनका बिरामीको उपचारको त्यो व्यवस्थापन उनले पनि सिक्ने मौका पाए।
पशुपति बाबुले चीनमा जलेका ती बिरामीको अस्पतालमा उपचार गर्दाको त्यो क्षण सम्झँदै भने,‘बिरामी महिनौँ अस्पताल बसे। तीमध्ये धेरैलाई अस्पतालले बचायो।’ जलेकामध्येका एक जना युवालाई त निक्कै मेहनत गरेर बचाएको क्षण सम्झिए उनले। उनीहरूलाई बचाउन सफल हुनुको कारण सङ्क्रमण हुन नदिन अपनाइएको सावधानी र पर्याप्त उपचारको सुविधा उपलब्ध हुनु मुख्य कारण रहेको उनले बताए।
जलेका युवा र भालुले मुख चिथोरेका बच्चाको उपचार
कतिपय बिरामीलाई त घर परिवारले बाँच्ने आशा समेत मारेका हुन्छन्। तर उपचारपछि बिरामी बाँच्दा खुसीको मापन कसरी गर्नु र ! उनले करिब चार वर्ष अघि परिवारले हरेस खाइसकेका एक करेन्ट लागेका युवालाई बचाएको प्रसङ्ग सुनाए।
झापाका ती युवाको करेन्ट लागेपछि झापाकै अस्पतालमा एउटा हात काटियो। तर, अर्को हात भने भित्रभित्रै कुहिसकेको रहेछ। ट्रमा सेन्टर पुगेका ती युवालाई डा. पशुपतिले भेट्दा हातको सङ्क्रमण भएर युवाको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो। अस्पताल पुगेपछि डा. पशुपति बाबुको टिमले ती युवाको शल्यक्रिया गरेर कुहिएको हात काटेर फालिदियो।
शरीर पनि जलेको थियो। तर, निक्कै मेहनतपछि ती युवालाई बचाउन उनको टिम सफल भयो। डा. पशुपति बाबुले भने,‘हातको इन्फेक्सन सरेर शरीरभरि फैलिएको थियो। अहिले पनि ती युवाले हात नबचे पनि ज्यान बचाइदिएकोप्रति कृतज्ञ हुँदै फोन गर्ने गरेका छन्।'
भालुले मुख, कान खाएर बङ्गारा देखिएका करिब दुई वर्षका बच्चाको उपचार गरेको क्षण पनि डा. पशुपति बाबुका लागि अविस्मरणीय छ। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका ती बालकको आफैँ आर्थिक सहयोगको समेत पहल गरेर करिब ३ वर्ष अघि बच्चाको मुखको आकार बनाइदिएको प्रसङ्ग उनले सुनाए।
धैर्यताको फल: एमबिबिएस अध्ययन
उपचारका अनुभूतिपछि उनले अध्ययन तथा जागिरे जीवनको प्रसङ्ग सुनाए। पशुपति बाबुको जन्म २०३२ मा काठमाडौँमा भएको हो। उनले २०४८ मा काठमाडौँको लैनचौरस्थित ‘आदर्श योगहरी’ विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। पशुपति बाबुले ‘अक्कल क्याम्पस’बाट २०५२ सालमा आइएसस्सी उत्तीर्ण गरे।
आइएस्सी अध्ययनपछि उनले छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चिकित्सा शास्त्र अध्ययन संस्थान (टिचिङ) मा प्रयास गरे। तर, छनोट परीक्षामा नम्बर कम आएकाले एमबिबिएस अध्ययनका लागि छनोट हुन सकेनन्। बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि लिखित परीक्षा त उत्तीर्ण गरे। तर, अन्तरवार्ता अर्कैले उछिट्टायो।
एमबिबिएस अध्ययनका लागि छात्रवृत्तिमा छनोट नभएपछि उनी निराश भए। उनलाई एमबिबिएस अध्ययन नै नगर्ने सोच आउन थाल्यो। त्यसैले पशुपति बाबुले बिएस्सी अध्ययन गर्ने र अस्ट्रेलिया जाने सोच बनाए। उनले त्रिचन्द्र क्याम्पसमा जिओलोजी विषय लिएर बीएस्सी अध्ययन थाले।
कन्सल्टेन्सीमार्फत जे विषय पाइन्छ त्यही पढ्ने सोचले अस्ट्रेलिया जाने तयारी करिब पूरा भइसकेको थियो उनको। डा. पशुपति बाबुले सुनाए,‘काम गर्दै जे पाइन्छ त्यही पढ्छु भनेर अस्ट्रेलिया जाने तयारी गरेको थिएँ।’
तर, पशुपति बाबुका बुवाको सपना भने छोरा डाक्टर बनोस् भन्ने थियो। त्यसैले उनका बुवाले धैर्य गर्न छोरालाई सम्झाए। डा. पशुपति बाबुले सुनाए,‘बुवाले बीएस्सी पढ्दै गर। एमबिबिएसका लागि प्रयास गर्दै गर भन्नुभयो।’ बुवाको सल्लाह उनले माने। पशुपति बाबुले बीएस्सी अध्ययन गर्दै छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि पनि प्रयास गर्न छोडेनन्।
नभन्दै बीएस्सी अध्ययन थालेको एक वर्षमा पशुपति बाबु छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि छनोट भए।
अव उनको एमबीबीए अध्ययन गर्ने बाटो खुल्यो। छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएपछि उनी एमबिबिएस अध्ययनका लागि चीन पुगे। चीनको ‘ग्वाङ्सी मेडिकल युनिभर्सिटी’मा सन् १९९८ मा एमबिबिएस अध्ययन थालेका पशुपति बाबुले सन् २००३ एमबिबिएस अध्ययन पूरा गरे।
एमबिबिएस अध्ययनपछि उनी नेपाल फर्किएर एक वर्ष इन्टर्नसिप गरे। उनले भने,‘इन्टर्नसिप गर्ने प्रावधान थियो त्यतिबेला’ त्यसपछि उनले एक वर्ष विभिन्न निजी अस्पतालहरूमा मेडिकल अधिकृतका रूपमा काम गरे।
प्राध्यापकको सुझावले अर्कै विषयको अध्ययन
उनलाई थप अध्ययन त गर्नु छँदै थियो। नेपालमा एक वर्ष काम गरिसकेपछि उनी थप अध्ययनका लागि सन् २००५ मा चीन पुगे। शिक्षा मन्त्रालय अन्तर्गतको छात्रवृत्तिमा स्नातकोत्तर तहको चिकित्सा शिक्षाको अध्ययनका लागि चीन पुगेका हुन्।
क्यान्सर सम्बन्धी सर्जरी (अंको सर्जरी) विषय अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका थिए उनी। यो विषयको अध्ययन गर्ने उनलाई इच्छा पनि थियो। त्यसैले उनी अंको सर्जरी विषयको अध्ययनका लागि चीनको ‘फुतान युनिभर्सिटी’ पुगे। उनले चीन पुगिसकेपछि युनिभर्सिटीका एक जना प्राध्यापकलाई भेटे। पशुपति बाबुले आफ्नो परिचय तथा अध्ययन गर्न पुगेको विषय प्राध्यापकलाई सुनाए।
तर, प्राध्यापकले पशुपति बाबुलाई क्यान्सर सम्बन्धी सर्जरी विषय अध्ययन गर्दा अध्ययनपछि अभ्यासका क्रममा सन्तुष्टि मिल्न कठिन हुने भन्दै अन्य विषय अध्ययन गर्न सल्लाह दिए। प्राध्यापकले उनलाई सुझाव दिँदै भने,‘क्यान्सरको सर्जरी गरे पनि बिरामी मर्न सक्छन्। नगरे पनि मर्न सक्छन्। क्यान्सर सम्बन्धी सर्जरी विषय जस पाउने विषय हैन। अध्ययन गरेर के गर्छौ र?’ प्राध्यापकले बरु क्यान्सरसम्बन्धी रिसर्च गर्न सुझाव दिए।
प्राध्यापकको सुझावपछि पशुपति बाबुलाई पनि क्यान्सर सम्बन्धी सर्जरी विषय अध्ययन गर्ने जाँगर मर्यो। यो विषयको रिसर्च मात्रै गर्न पनि मन लागेन। उनलाई जसरी पनि सर्जरी विषयको अध्ययन नै गर्ने इच्छा थियो।
पशुपति बाबुको सर्जरी विषयकै अध्ययन गर्ने इच्छा भएको प्राध्यापकले बुझे। त्यसपछि तिनै प्राध्यापकले अर्कै युनिभर्सिटीका एक जना साथीसँग पशुपति बाबुलाई सर्जरी विषय अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरे। ती नभन्दै प्राध्यापकका साथीले पशुपति बाबुलाई सर्जरी विषयको अध्ययनका लागि वातावरण मिलाइदिए।
त्यसपछि पशुपति बाबु ‘सेन्ट्रल साउथ युनिभर्सिटी’ पुगे। त्यहाँ पुगेर युनिभर्सिटीका प्राध्यापकलाई भेटे। उनी ‘बर्न एन्ड प्लास्टिक तथा रिकन्सट्रकटिभ’ सर्जरी विषयका प्राध्यापक रहेछन्। प्राध्यापकसँगको कुराकानीपछि सेन्ट्रल साउथ युनिभर्सिटीमा पशुपति बाबुले ‘एमएस बर्न एन्ड प्लास्टिक सर्जरी’ विषयको अध्ययन सुरु गरे।
डा. पशुपति बाबुले चीन पुगेर ‘सेन्ट्रल साउथ युनिभर्सिटी’बाट सन् २००८ मा तीन वर्षीय स्नातकोत्तर तहको ‘एमएस बर्न एन्ड प्लास्टिक सर्जरी’ विषयको अध्ययन पुरा गरे।
एमएस बर्न एन्ड प्लास्टिक सर्जरी विषयको अध्ययनपछि उनले एक वर्ष चीनमा नै मेडिकल कलेजमा पढाए।
सरकारी जागिर र व्यस्त दैनिकी
चीनपछि नेपाल फर्किएर काठमाडौँको सुस्मा कोइराला मेमोरियल अस्पतालमा सन् २०१० बाट करिब डेढ वर्ष प्लास्टिक सर्जनका रूपमा काम गरे उनले।
उनलाई अध्ययनको भोग मरेकै थिएन। त्यसैले डेढ वर्ष शूक्ष्मा कोइराला मेमोरियल अस्पतालमा काम गरेपछि सन् २०११ मा विद्यावारिधि गर्न उनी चीन पुगे। तर, पारिवारिक समस्याका कारण उनको विद्यावारिधि गर्ने सपना पूरा हुन सकेन। पहिलो छोरा जन्मिएकाले अध्ययन थालेको करिब डेढ वर्षमा उनी नेपाल फर्किए। उनकी श्रीमती पनि चिकित्सक हुन्। त्यसैले बच्चा हेर्न समेत समस्या भएपछि अध्ययन पछि गरौँला भनेर आफू नेपाल फर्किएको उनले सुनाए। डा. पशुपति बाबुका ११ र पाँच वर्षका छोरा छन्।
नेपाल फर्किएपछि डा. पशुपति बाबुले निजी अस्पतालहरूमा काम गरे। नेपाल मेडिकल कलेजमा लेक्चर तथा सर्जनका रूपमा करिब एक वर्ष काम गरे। त्यसै गरी नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन (एमएस) गरेबापत सन् २०१५ पछि करिब डेढ वर्ष वीर अस्पतालमा छात्रवृत्ति करारमा काम गरे।
त्यही बीचमा उनले सरकारी जागिरका लागि लोकसेवाको परीक्षा दिए। २०७३ मा लोकसेवा मार्फत ९ औँ तहको स्थायी सरकारी चिकित्सकको रूपमा उनी जागिरे भए। सरकारी चिकित्सक भएपछि डा. पशुपति बाबुको पहिलो पोस्टिङ वीर अस्पतालमा भयो।
अहिले उनी बढुवा भएर दसौँ तहको सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जनको रूपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल/ट्रमा सेन्टर) मा कार्यरत छन्।
बिहानदेखि बेलुसम्म सधैजसो व्यस्त हुने उनले कुराकानीको क्रममा सम्भवतः पहिलोपल्ट मिडियामा कुरा गरेको सुनाए। डा. पशुपति बाबुले भने,‘सम्भवतः म तपाईँसँग माडियामा पहिलो पल्ट कुरा गर्दैछु। अहिलेसम्म मिडियामा अन्तर्वार्ता दिएको याद छैन।’
सुरु सुरुमा ट्रमा र वीर अस्पतालमा कमै प्लास्टिक सर्जन भएकाले बिहानदेखि बेलुका अबेरसम्म बिरामीको उपचारमा व्यस्त हुने गरेको उनले सुनाए। अहिले भने जुनियर चिकित्सकहरूको समेत सङ्ख्या बढ्दै गएकाले केही हदसम्म धपेडी कम भएको डा. पशुपति बाबुको अनुभूति छ। ‘प्लास्टिक सर्जन थोरै मात्र थियौँ। खाजा खाने समय समेत निकाल्न कठिन हुन्थ्यो।,’उनले सुनाए,‘पछि विद्यार्थी आउन थाले। अरू वार्डबाट पनि डाक्टरको पोस्टिङ हुन थाल्यो। अहिले अलि हल्का भएको छ।’
कात्तिक २७, २०७८ शनिबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।