रवीन्द्र मिश्रलाई ‘लाजनीति’ बन्द गर्न मिलन पाण्डेले गरे आग्रह
काठमाडौँ : विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अवैधानिक भएको संयोजक मिलन पाण्डेले आरोप लगाएका छन्।
पाण्डेले विधान विपरीत आएका निर्णयहरूलाई मान्यता नदिन र निर्णय नगर्न दिएको उजुरी सुनुवाइ नगरी आयोगले गरेको निर्णय अवैधानिक र रहस्यमय भएको पाण्डेले उल्लेख गरेका छन्।
विवेकशील साझाका संयोजक पाण्डेले विज्ञप्ति निकालेर आधिकारिकता दिने निर्णयलाई अदालतमा चुनौती दिने चेतावनी दिएका छन्।
रवीन्द्र मिश्रले बोलाएको बैठक विवेकशील साझा पार्टी विधान विपरीत रहेको पाण्डेले जिकिर गरेका छन्।
‘विवेकशील साझा पार्टीको विधानले बैठक जुममा गर्ने प्रावधान दिएको छैन,’पाण्डेले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘बैठकले पार्टीको विधान नै परिवर्तन गर्ने, सम्पूर्ण अधिकार अध्यक्षमा निहित गर्ने र वैकल्पिक राजनीतिको मर्म मार्ने, नेपालको व्यवस्था विरोधी, संविधान विरोधी, पश्चगमनकारी दस्ताबेज ‘मार्ग परिवर्तन’ दस्ताबेज पारित गरेको भनियो।’
फरक मत राख्नेलाई बोल्न समेत नदिएको भन्दै संयोजक पाण्डेले उक्त बैठकलाई कथित बैठकको संज्ञा पनि दिएका छन्।
‘रवीन्द्रजीलाई राजनैतिक रूपमा नैतिक चुनौती दिन चाहन्छु। उहाँले भनेको ९१ जनानै यही निर्णयमा सहमत गराउनुहोस्। नत्र, यो ‘लाजनीति’ बन्द गरौँ। मिडिया गएर ८० प्रतिशत छ भनेर बोल्न छाडौँ,’पाण्डेले विज्ञप्तिमा लेखेका छन्,’१०० प्रतिशतले नै बनाएको अध्यक्ष ८० प्रतिशत छ भन्नु पनि आफैमा लाज हो।’
कात्तिक २७, २०७८ शनिबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।