पोलियो भएका गंगाधर यसरी बने 'गंगा आर्ट'

पोलियो भएका गंगाधर यसरी बने 'गंगा आर्ट'

बुटवल : मिहिनेत र लगन भयो भने शारीरिक दुर्बलता भएका व्यक्तिले सफलता प्राप्त गर्न सक्छन् भन्ने एउटा दरिलो उदाहरण हुन्, गंगाधर आचार्य।

पाल्पा जलजला स्थायी घर भएका गंगाधर गंगाधरलाई जन्मँदै पोलियो भयो। उपचार भएन। घस्रेर हिँड्नुपर्ने अवस्था भयो। 

३५ वर्षदेखि बुटवल बस्दै आएका गंगाधर २५ वर्षदेखि चित्र र अक्षरसँग खेलिरहेका छन्। उनी गंगाधर आचार्यभन्दा बढी ‘गंगा आर्ट’ का नामले परिचित छन्।

४३ वर्षीय गंगालाई अहिले पनि चित्र र अक्षरसँग खेल्न भ्याइनभ्याइ छ। बुटवल, तिलोत्तामा, देवदह, भैरहवासम्म पुगेर भित्तामा चित्र बनाउने, लेख्ने, बोर्ड व्यानर बनाउने, मन्टेश्वरीमा बालबालिकाका सिकाइका चित्र बनाउनलाई अहिले पनि फुर्सद छैन।

‘चित्र बनाउन, लेख्न, बोर्ड-व्यानर बनाउन थालेको २५ वर्ष भयो। यसबीचमा धेरै कष्टकर जीवन बिताउनुपर्यो,’ गंगाले भने।

गंगा तीन वर्ष हुँदासम्म उभिन सकेनन्। सानो उमेरमै बुबा नारायणदत्तको मृत्यु भएकाले उनले बुबालाई राम्रोसँग देख्न पनि पाएनन्। श्रीमानको मृत्युपछि परिवारको पालनपोषण आमा लक्ष्मीको काँधमा आयो। 

दाइ-दिदी विद्यालय जान थाले तर उनी सकेनन्। दिनभरि घरमै थुनिए गंगा। 

२०४२ सालमा आमा लक्ष्मीलाई बुटवलको समाज कल्याण केन्द्र (हाल बालगृह)ले अनाथ तथा अपांगता भएकालाई आश्रय दिएर पढाउने गर्छ भनेर थाहा पाइन्। उनलाई आमाले समाज कल्याणमा ल्याएर छाडिदिइन्। 

‘मेरो भविष्यका लागि आमाले आफ्नो ममता त्याग्नुभयो। आमाको त्याग नभएको भए अहिले म यहाँसम्म आउन पनि सक्दैनथे होला,’ गंगाधरले भने। 

आफ्नै मिहिनेत र पौरखले २५ वर्ष पेन्टिङ गरेका गंगाधरले तिलोत्तमामा घर बनाएका छन्। एउटा घडेरी पनि जोडेका छन्। केही रकम जम्मा पनि गरेका छन्।

समाज कल्याणमा आश्रय
७ वर्षको उमेरमा परिवारबाट छुटेका गंगाराम समाज कल्याणमा बस्न थाले। छोराको भविश्यका लागि आमाले ‘अनाथ’ भनेर आश्रममा छाडिदिएपछि उनको दैनिकी आश्रममा बित्न थाल्यो। गंगारामको गोलीगाँठोभन्दा तलको भाग बांगा थिए। आश्रममा आएपछि पनि उनले ३ वर्ष जति खुट्टा घिसारेरै हिँडे। 

त्यसपछि केन्द्रले उनलाई कालिका स्कुल (हाल कालिका मानवज्ञान विद्यालय)मा भर्ना गरिदियो। राजमार्ग चौराहमा समाज कल्याण केन्द्र थियो। कालिकामा पढ्न उनी घस्रिएर जान थाले।

केन्द्रले उनलाई २०४५ सालतिर उपचारका लागि काठमाडौं लग्यो। उपचारपछि पैताला अगाडि फर्किए। बांगिएकै भए पनि खुट्टा टेकेर भित्र-बाहिर हिँडडुल गर्नसक्ने भए। एसएलसी दिनसम्म गंगा समाज कल्याण केन्द्रमै बसे। एसएलसी त दिए तर पास भएनन्। एसएलसी पढ्नसम्म मात्र केन्द्रमा बस्न पाइन्थ्यो। त्यस कारण उनले केन्द्र छाडे।

सडक र प्रतीक्षालय हुँदै घरसम्म
आश्रमबाट निस्केपछि के गर्ने, कहाँ बस्ने गंगाधरलाई थाहै थिएन। आमा र दाइ उनले एसएलसी दिउन्जेल चितवन आइसकेका थिए। भाइ निसक्ने थाहा पाएपछि लिन दाजु बुटवल आए पनि उनी घर जान तयार भएनन्। त्यसपछि संघर्षका दिन सडक र प्रतीक्षालयबाटै सुरु गरे।

सुरुमा केही समय प्रतीक्षालयमा बसे। दिनभरि पसल अगाडि च्यातिएका नोट जम्मा गर्थे। त्यही नोट जाडेर बैंक लैजान्थे। साट्थे। त्यसैगरी केही समय बिताए। सधै फाटेका नोट त कहाँ भेटिन्थे र। गंगारामले त्यसपछि केही गर्नुपर्छ। 

सानो उमेरमा उनको रुचि पेन्टिङमा थियो। फाटेका नोट जम्मा गरेर खान समेत नपुगेपछि उनले २०५३ सालदेखि पेन्टिङको काम सुरु गरे। कोठा भाडामा लिएर बस्न र पेन्टिङ गर्न थाले।

त्यो बेला अहिले जस्तो डिजिटल बोर्डहरु थिएनन्। हातले नै लेखेर बोर्ड, ब्यानर राखिन्थ्यो। उनले पेन्टिङ गर्न थालेपछि जीवन सहज मात्र चलेन, केही वचत पनि हुन थाल्यो।

त्यो बेला देशमा निर्वाचन हुँदै थियो। झण्डा बनाउने, व्यानर बनाउने कामले उनलाई भ्याइनभ्याइ भयो। ‘चुनावमा धेरै काम पाइन्थ्यो। चुनावबाटै भएको आम्दानीले २०७४ सालमा घर किन्न सफल भएँ,’ गंगाधरले भने। उनले पेन्टिङ गरेरै साढे चार धुर घडेरीमा बीस लाख खर्चिएर पक्की घर बनाएका छन्।

रेडियोको अन्तवार्ताले भेट, भागेर विहे
२०६२ सालमा बुटवलकै एउटा रेडियोमा गंगाधरको अन्तर्वार्ता बज्यो। त्यो अन्तर्वार्ता बजेपछि गौरी नाम गरेकी युवतीले उनलाई पत्र पठाइन्। चर महिनाजति पत्र आदानप्रदान भयो। पछि उनीहरुले भागेर विहे गरे।

‘म हिँड्न नसक्ने, मागेर नगर्देलान् भनेर भागेर विहे गर्यौं। अहिले हामी दुवै खुसी छौं,’ उनले भने।

गौरीको साथ पाएपछि गंगाधरको हौसला बढेको छ। उनीहरुका दुई सन्तान छन्। जेठी छोरी गरिमा कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन् भने कान्छी कृति पनि सोही स्कुलमा कक्षा ३ मा पढ्छिन्।

शरीर हेरेर कामको जोखना गर्दा दुःख लाग्छ
गंगाधरलाई सुरु-सुरुमा काम पाउन निकै मुस्किल पर्यो। धेरैले शरीरलाई काम गर्ने ‘जोखना’का रुपमा तुलना गरेको उनी बताउँछन्। ‘काम सानो-ठूलो हुँदैनथ्यो। तर मेरो शरीर हेरेर काम दिन गाह्रो मान्थे,’ उनले विगत सम्झे।

गंगाधरलाई अहिले भने काम पाउन गाह्रो छैन। फोन सम्पर्कको भरमा अहिले काम पाइरहेका छन्। एक पटक काम लगाएकाहरुले अहिले पनि गंगाधरबाटै काम लगाउने गरेका छन्।

ठूला भित्ते पेन्टिङ गर्न गंगाधरलाई खुट्टाले दिँदैन। भुईंमा बसेर र सामान्य उभिएर गर्नुपर्ने काम एक्लै गर्छन्। ठूला पेन्टिङको काम साथीहरुसँग मिलेर गर्दै आएका छन्।

कात्तिक २७, २०७८ शनिबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।