कांग्रेस अधिवेशनः क्षेत्रीय सभापतिमा तिलक राईलाई उम्मेदवार बनाउँदा देउवा समूह विभाजित 

कांग्रेस अधिवेशनः क्षेत्रीय सभापतिमा तिलक राईलाई उम्मेदवार बनाउँदा देउवा समूह विभाजित 

इटहरीः नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा तिलक राईले उम्मेदवारी दिएका छन्। संस्थापन इतर प्यानलका राईलाई संस्थापन प्यानलले समर्थन गर्ने भएको हो। 

संस्थापन पक्षले राईलाई समर्थन गर्ने भएपछि देउवा समूहमा किचलो सुरु भएको छ। धरान उपमहानगरपालिकाको अधिवेशनमा देउवा पक्षका किशोर राईलाई पराजित गराउन लागेका उनलाई उम्मेदवार बनाउन नहुने भन्दै विरोध सुरु भएको हो।  

इतर पक्षबाट क्षेत्रीय सभापतिका आकांक्षी सुजेन्द्र तामाङले नछाड्ने भएपछि तिलक राई संस्थापन पक्षको समर्थनमा सभापतिका उम्मेदवार भएका हुन्। तिलककै समर्थनमा उपमहानगर सभापति निर्वाचित इतरपक्षका श्याम पोखरेलले भने तामाङलाई समर्थन गर्ने भएका छन्। 

उपमहानगर समितिको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार किशोर राईविरुद्ध उम्मेदवार उठाएका तिलकलाई सर्मथन गर्न नसकिने भन्दै नेताहरूले विरोध जनाएका हुन्। संस्थापन इतर समूहका उम्मेदवार पोखरेल तिलक राईकै जोडबलमा विजयी हुँदा किशोर राई पराजित भएका थिए।

संस्थापन पक्षका पुराना नेता किशोर राईले भने तिलकको उम्मेदवारीलाई सघाउन नसक्ने बताएका छन्। 

यसअघि संस्थापन पक्षबाट उम्मेदवारकाे चर्चामा रहेका पूर्ण सुवेदीकै समर्थनमा राईले उम्मेदवारी दिने भएका छन्। पार्टी संस्थापन पक्षले सुवेदीलाई प्रदेशको समानुपातिक सांसदमा व्यवस्थापन गर्ने बाचा गरेपछि उनी पछि हटेको बताइएको छ। अहिले सुवेदी तिलकको पक्षमा मत माग्दै कार्यकर्ता भेटघाटमा हिँडेका छन्।

भर्खरै संस्थापन पक्षलाई चुनावमा हराउनेलाई ताज पहिर्याउन नसक्ने किशोर राईको तर्क छ। हिजो देउवा समूहको लागि कोही नहुँदा खटेको कार्यकर्ताको अपमान भएको उनको भनाइ छ।

किशोर नेपाली कांग्रेस विभाजित भएको समयमा प्रजातान्त्रिक कांग्रेसको धरान नगर सभापति थिए। तत्कालीन प्रजातान्त्रिक कांग्रेसमा नेताहरूको अभाव भएको बेला किशोर राईले साथ दिएका थिए। 

संस्थापन पक्षका मीन विश्वाकर्माले पनि इतर पक्षका नेतालाई टीममा ल्याउने अभियान थालेका छन्। तिलक राईलाई देउवा समूहको उम्मेदवार बनाउन सके केन्द्रसम्मै आफ्नो सकरात्मक सन्देश जाने विश्वकर्माको बुझाइ छ। टीमको लागि काम देखाउन उनले निकै मेहनत गरिरहेका छन्। केन्द्रमा मात्र पकड भएको आरोप लाग्ने गरेका विश्वकर्माले भूगोलमा पनि कार्यकर्ता समेट्ने प्रयत्न थालेका छन्।

तथापि उनकै कारण देउवा समूहका पुराना कार्यकर्ता पाखा लाग्दै गएका छन्। 

निर्वतमान उपमहानगर सभापति समेत रहेका राई धरानका लोकप्रिय नेता हुन्। हालको क्षेत्रीय प्रतिनिधिमा कमजोर अवस्थामा देखिएको देउवा प्यानलमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आफ्नो पक्षका क्षेत्रीय प्रतिनिधि र देउवा टीमको मत पाए निर्वाचन जित्न सकिने उनको बुझाइ छ। 

तिलक राईले पनि संस्थापन पक्षमा गएको नभएर उनीहरूले समर्थन मात्र गरेको बताएका छन्। आफूले कुनै गुट उपगुट परिवर्तन नगरेको उल्लेख गर्दै उनले क्षेत्रीय सभापतिमा संस्थापन पक्षले सहयोग गर्ने बाचा गरको बताए।

हिजो नगर समितिको निर्वाचनमा आफ्नो प्यानल प्रष्ट भएकाले अहिले पनि त्यही टीममा रहेको उनको भनाइ छ। 

कात्तिक २७, २०७८ शनिबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।