कांग्रेस महाधिवेशन: झापामा सिटौला र शर्मा प्यानलबीच चुनावी प्रतिस्पर्धा 

कांग्रेस महाधिवेशन: झापामा सिटौला र शर्मा प्यानलबीच चुनावी प्रतिस्पर्धा 

लामो समयदेखि सिटौलाको वर्चस्व रहँदै आएको झापामा यस पटक परिणाम उल्ट्याउने दाउमा शर्मा प्यानल लागिपरेको छ। उता सिटौला प्यानलले भने वर्चस्व कायम राख्ने योजना बनाएको छ। 

पार्टीको १३ औं अधिवेशनमा सर्वसम्मत नेतृत्त्व चयन गरेको झापाले यस पटक चुनावी परिणामबाट नेतृत्त्व पाउने भएको छ। यसअघि ९ बुँदे सहमति गरेर उद्धव थापालाई सभापतिको जिम्मेवारी दिइएको थियो। अर्का अकांक्षी देउमान थेवेलाई राजनैतीक भूमिकामा राख्ने सहमतिसहित थापा सर्वसम्मत भएका थिए। 

थेवेले आफूलाई १४ औं अधिवेशनमा सर्वसम्मत सभापति दिने भएपछि छाडेको बताउँदै आएका छन्। आफूले सर्वसम्मत नेतृत्त्व पाउनुपर्छ भन्दै उनले नेताहरूसँग भेटघाट अगाडि बढाएका छन्।

०७२ फागुन २५ गतेको सहमतिअनुसार आफूले सभापति पाउनुपर्ने उनको दावी छ। सहमतिअनुसार सभापति नबनाए चुनावी प्रतिस्पर्धामा सहभागी हुने उनले बताउँदै आएका छन्। 

मंसिर १० गते हुने जिल्ला अधिवेशनको लागि शर्मा पक्षबाट उपसभापति रामबहादुर कट्टेलले समेत उम्मेदवारी दिएका छन्। यसअघि सिटौला प्यानलका कट्टेलले शर्मा प्यानलबाट सभापतिको उम्मेदवारी दिएका हुन्। शर्माले केन्द्रीय महामन्त्रीको घोषणा गर्न झापाको विर्तामोडमा आयोजना गरको कार्यक्रममा कट्टेलले सभापतिको लागि भोट मागेका थिए।

शर्माले पनि कट्टेल जस्तो इमान्दार र कर्मठ नेतालाई विजयी गराए झापा कांग्रेस मजबुत हुने भन्दै समर्थन गरेका थिए।  

९ बुँदे सहमतिमा थेवेलाई सर्वसम्मत सभापति दिने कुरा उल्लेख नभएको भन्दै शर्मा पक्षले सभापतिमा उम्मेदवारी दिने बताएको हो। हालका सभापति थापाको नेतृत्त्वमा झापामा कांग्रेसले उल्लेख्य उपलब्धि हासिल नगरेको भन्दै नेतृत्त्व परिवर्तनको मुद्दा बलियो बन्दै गएको छ।

१५ मध्ये ५ पालिकामा मात्र विजयी भएको र प्रतिनिधि सभामा एक सिट पनि विजयी गराउन नसकेको भन्दै थापाको आलोचना भएको हो। 

उता थापाले भने नेतृत्त्व परिवर्तन गर्न तयार भएको तर सहमतिअनुसार थेवेले सभापति पाउनुपर्ने बताउँदै आएका छन्। थेवेलाई पार्टी सभापति बनाउने बुँदा रहेको उनको दावी छ। उता पूर्वकेन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले आफू साक्षी बसेर थेवेलाई सभापति बनाउने सहमति गरेको बताएका छन्।

सहमति पालना नगरेर शर्माले कट्टेललाई उम्मेदवार बनाएकोमा उनको आपत्ति छ। 

शर्मा पक्षले भने भ्रम छरेर हुँदै नभएको सहमतिलाई प्रचार गरेको बताएको छ। श्वच्छ प्रतिस्पर्धाबाट नेतृत्त्व चयन गर्न लोकतान्त्रिक पद्धतिको पालना गर्न शर्मा पक्षले आग्रह गरेको छ। शर्माले लामो समयदेखि झापालाई आफ्नो पक्षमा पार्न मेहनत गर्दै आएका छन्। 

थेवेलाई पुराना कांग्रेसी नेताको साथ रहेकाले उनी बलियो उम्मेदवारको रूपमा देखिएका छन्। सिटौलासहित पूर्वकेन्द्रीय सदस्य बुढाथोकी, झापा सभापति थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्वसभापति सुधीरकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले उनलाई समर्थन गरेका छन्। 

उता कट्टेलको पक्षमा प्रवक्ता शर्मा, सांसद महिन्द्रा कुमारी लिम्बू, पूर्वसांसद उषा गुरुङ, जिल्ला सचिवद्वय प्रेम सम्बाहाम्फे र तारावीर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाललगायत छन्।

निकै प्रतिस्पर्धात्मक हुने देखिएको निर्वाचनमा शर्मा पक्षले नेतृत्त्व हत्याउने रणनीति बनाएको छ। तथापि, क्षेत्रीय प्रतिनिधि र पालिका अधिवेशनको अवस्थालाई हेर्दा सिटौला पक्ष हावी छ।

कात्तिक २७, २०७८ शनिबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।