मनपरी डोजर लगाउँदा सुकेको लामाखाली ताल
तर, २०७१ सालदेखि यो तालमा न गाईबस्तु देखिन्छन्, न पानी लिन आउनेको भीड। तालको वरिपरि बस्ती बसेको छ। तालको बीचबाट चौडा सडक गएको छ।
जथाभावी खनिएका सडकले ताल नै सुकेकाे छ। अहिले तालको नामो निसान नै मेटिएको छ। तर ताल यस्तो थिएन। सुनारले थाहा पाउँदासम्म २०३५ सालदेखि ताल वर्षामा त भरिन्थ्यो नै, हिउँद र खडेरीमा समेत भरीभराउ हुन्थ्यो।
‘पहिला तालमा हामी गाईबस्तु लगेर पानी खुवाउँथ्यौं। दुई गाउँका वासिन्दाको पिउने पानीको स्रोत पनि लामाखाली ताल नै थियो। तालमा त साँझबिहान मान्छे र गाईबस्तुको भीड हुन्थ्यो’, सुनारले भने, ‘अहिले त तालको बीचमा सडक छ, वरिपरि बस्ती छ। त्यो बेलाको ताल सम्झँदा त अहिले सपना जस्तै लागेको छ।’
एक समय, लखरपाटा र लामाखालीका स्थानीयहरूको पिउने र गाईवस्तुलाई खुवाउने पानीको स्रोत भनेकै लामाखालीको ताल थियो। लामाखाली साविक पोखरीकाँडा गाउँ विकास समितिको केन्द्र समेत हो।
तर ताल सुकेपछि यहाँका नागरिकलाई पानीको धेरै संकट पर्यो। जसाेतसाे संकट टार्न नेवा नामक गैरसरकारी संस्थाले दैलेखको सिमानाबाट करिब २० किलोमिटरको दूरीमा पाइपबाट पानी ल्याएको छ।
त्यही पानीबाट ४२ घरधुरीलाई पायक पर्नेगरी टोलटोलमा धारा राखिएका छन्। तर पानी पर्याप्त छैन। कहिले पानी आउँछ कहिले आउँदैन। गाईबस्तुलाई पनि एक दिन बिराएर पानी खुवाउनुपर्ने बाध्यता रहेको छ।
करिब १० रोपनी क्षेत्रफलमा लामो आकारमा फैलिएको हुनाले तालको नाम ‘लामाखाली ताल’ राखिएको स्थानीय ध्रुव खड्काले बताए। उनका अनुसार यसै तालको नामबाट यो गाउँको नाम पनि लामाखाली राखिएको हो।
४० मिटर गहिराइ रहेको ताल सुकेपछि अहिले ताल रहेको क्षेत्रफल समेत अधाभन्दा बढी खुम्चिएको छ। ताल सुकेपछि पानी हाँस, जलेवा, कछुवा, माछा र पखेँटा नभएका ताल सफा गर्ने चरा समेत लोप भएका छन्।
बराहताल गाउँपालिकाको केन्द्र बड्डीचौरदेखि करिब १५ किलोमिटर पहाडको खोँचमा रहेको लामाखाली गाउँका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत भनेकै पशुपालन र कृषि हो।
तर, पछिल्लो समय पानीको अभाव हुँदै गएपछि यहाँका नागरिकले गाईभैंसी पाल्नै छोडेको साविक पोखरीकाँडा गाउँ विकास समितिका उपाध्यक्ष खगेन्द्र प्रसाद शर्माले बताए।
‘पहिला तालको पानी थियो। गाईबस्तु पालेर जीविका निर्वाह गर्न पनि सहज थियो। ०७१ सालमा सडक खनिएपछि एकाएक तालमा पानी जम्मा हुनै छोड्यो’, शर्माले भने, ‘बिगतमा मानिसले भरिभराउ गाउँ पानीकै कारण यहाँबाट बस्ती सरेर बड्डीचौर, बिउरेनी, पिङाले, गिमिने, भुम्के लगायतका ठाउँमा गएका कारण ४२ घरधुरी मात्रै छन्।’
लामाखाली मात्रै हाेइन, जथाभावी डाेजर लगाएर गरिएका बेताले विकासले सुर्खेतका बुलबुले, बराहताल, जाजुरा दहजस्ता दर्जनाैं तालहरू संकटमा परेका छन्।
कात्तिक २७, २०७८ शनिबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।