पौडेल पक्षको निष्कर्ष : न्यायालयको विवादमा सरकार र दलहरू मौन बस्न हुदैन

पौडेल पक्षको निष्कर्ष : न्यायालयको विवादमा सरकार र दलहरू मौन बस्न हुदैन

शुक्रबार काठमाडौँमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले न्यायालयको विवादमा सरकार र दलहरू मौन हुन नहुने निष्कर्ष निकाले नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

बैठकले राजनीतिक समन्वय समितिमा समेत रहेका पौडेललाई यो विषयमा कुरा उठाउन सुझाव दिएको केसीले जानकारी दिए। पौडेल पक्षले न्यायालयको विवादबारे आइतबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा राख्ने नेता केसीले बताए। 

बैठकमा आकाङ्क्षीहरू मिल्न नसके आफू नै सर्वमान्य सभापतिको उम्मेदवार बन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। 

बैठकमा सहभागी एक नेताका अनुसार नेता पौडेलले अन्य आकाङ्क्षीहरू मिल्न नसकेकाले समूहमा समस्या पैदा भएको उल्लेख गरे । ‘कि त तपाईँहरू मिलेर साझा उम्मेदवार दिनुहोस्,’पौडेलले भने,‘हैन भने मलाई छाड्नुहोस्।’  

बैठकमा सहभागी केही नेताहरूले सर्वसम्मत बन्ने भए मात्र पौडेललाई उम्मेदवार बन्न सुझाव दिएका थिए। ‘सर्वसम्मत बने तपाईँ उम्मेदवार बन्नुहोस्, नभए आकाङ्क्षीमध्ये एक जनालाई सर्वसम्मत बनाउनुहोस् भनेर रामचन्द्र दाइलाई हामीले भन्यौँ,’ ती नेताले भने। 

जवाफमा पौडेलले सभापतिका आकाङ्क्षी चार जनालाई राखेर युवा नेताहरूले समाधान खोज्नुपर्ने भनेका थिए।  ‘केही दिनभित्रै चार जनालाई राखेर तपाईँ युवा नेताहरूले सर्वसम्मत उम्मेदवार खोज्नुहोस्, चाँडो गर्नुहोस्।’ बैठकमा पौडेलले भने।

बैठक पछि नेता अर्जुननरसिंह केसीले आफू पनि सभापतिको दाबेदार भएको बताए। बैठकमा सहभागी महामन्त्री शशाङ्क कोइरालाले भने,‘इतर पक्षबाट साझा उम्मेदवार नभए शेरबहादुर देउवालाई बुझाए भइहाल्यो । यसै विषयमा छलफल भयो ।’ आजको बैठकमा सभापतिका अर्का आकाङ्क्षी प्रकाशमान सिंह भने अनुपस्थित थिए।

पौडेल पक्षको बैठकले अहिले पनि कतिपय ठाउँमा क्रियाशील सदस्यता विवाद कायम रहेको निष्कर्ष निकालेको छ। नेता अर्जुननरसिंह केसीले अहिले पनि क्रियाशील सदस्यताको विवाद देखिएको बताए। 

‘सप्तरीमा ४५६ जना र बाँकेमा २३९ जना थपिएको भन्ने कुरा आयो,’केसीले भने,‘डडेलधुराको विवादबारे डेलिगेसन नै आयो र हामीले भेट्यौ।’

उनले वैधानिक रूपले निर्वाचित भातृ संस्थाहरू मात्रै पार्टी महाधिवेशन प्रतिनिधि हुन पाउने बताए। वैधानिक रूपमा निर्वाचित नभएका भातृ संस्थाको महाधिवेशनमा प्रतिनिधित्व हुन नसक्ने निष्कर्ष बैठकले निकालेको केसीले बताए। कांग्रेसको जनसम्पर्क समितिमा पनि क्रियाशील सदस्यता विवाद रहेको उनले बताए।

‘बेलायतमा नेपाली नागरिक नभएकाले कांग्रेसको क्रियाशील सदस्यता लिएको भन्ने कुरा आएको छ,’उनले भने,‘साइप्रस देखि बेल्जियमसम्म र अमेरिकामा अधिवेशन हुन नसकेको विषय आएको छ।’

कात्तिक २६, २०७८ शुक्रबार २०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।