एमालेका बिद्रोही नेता द्धवारीकलालको घरमा माधव नेपालको लन्च
शुक्रबार दिउँसो चौधरीले घरैमा आयोजना गरेको कार्यक्रममा नेपाल सहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लगायत एकीकृत समाजवादीका नेताहरू सहभागी भए।
एकीकृत समाजवादीका नेताहरूसँगको चौधरीको निकटताले एमाले सुनसरीमा तरङ्ग ल्याएको छ। चौधरीले एमाले भित्रै विद्रोही भूमिमा देखाइरहेका बेला माधव नेपालको स्वागतले शङ्का उत्पन्न गरेको हो। यस अघि २०७४ जेठ २ अघिको अध्यक्ष आफू भएको बताउँदै आएका चौधरीको विद्रोही व्यवहारले सुनसरी एमालेमा हलचल ल्याएको छ।
इटहरी उपमहानगरपालिकाको अधिवेशनमा छुट्टै उम्मेदवार उठाउने र छुट्टै भेला बोलाउने काम गरेका उनी चर्चामा आइरहने नेता हुन्। लामो समयदेखि दुई कमिटीमा विभाजित सुनसरी एमालेको एकता हुने कार्यक्रममा पनि बागी प्रस्तुति दिएका उनले पार्टी विधान अनुसार नचलेको आरोप लगाएका थिए।
गत बुधबार एमाले सुनसरीको बैठकमा माइक खोसेर चौधरीले पार्टी नेताहरूको स्वार्थमा चलेको बताएका थिए। रेवतीरमण भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो। दुई अध्यक्षले अध्यक्षता नगर्ने भए आफूले पाउनुपर्ने अडान राखेका उनले पार्टीलाई प्राइभेट कम्पनी बनाउन खोजेको आरोप लगाए।
माधव नेपालसँगको भेटमा इटहरीको विकास निर्माण लगायत विषयमा छलफल भएको मेयर चौधरीले बताए। प्रदेश १ का मुख्यमन्त्री राईले इटहरीको विकासको लागि ध्यान दिनुपर्ने भन्दै ध्यानाकर्षण गराइएको उनको भनाई छ। इटहरीको मुख्य समस्याको रूपमा रहेको बाढी र डुबानको विषयमा प्रदेश सरकारलाई जानकारी गराइएको उनले बताए।
कात्तिक २६, २०७८ शुक्रबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।