एमालेको महाधिवेशन प्रतिनिधि छनौट : रुपन्देहीमा सर्वसम्मत चयन गर्न सकस 

एमालेको महाधिवेशन प्रतिनिधि छनौट : रुपन्देहीमा सर्वसम्मत चयन गर्न सकस 

मंसिर १० गते देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट गर्न एमाले रुपन्देहीलाई सकस पर्ने देखिएको छ। 

रुपन्देहीबाट जम्मा ३३ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदै छन्। १७ हजार भन्दा धेरै सदस्य सङ्ख्या रहेको जिल्लामा ३३ जना प्रतिनिधि छनोटको कोटा तोकिएको छ। तर, प्रतिनिधिका आकाङ्क्षी भने १ सय २० भन्दा बढी भएपछि सकस भएको एमाले रुपन्देहीका जिल्ला तहका नेताले बताए। 

एमाले रुपन्देहीले पालिका तहको अधिवेशन सम्पन्न गरिसकेको छ। नेताहरूले बाहिर सर्वसम्मत नेतृत्व चयनको सन्देश दिनुपर्ने भन्दै अधिकांश ठाउँमा सर्वसम्मत नेतृत्वका लागि दबाब दिएका थिए। तर, प्रतिनिधि छनौटमा भने नेताहरूको दबाब मान्न कार्यकर्ता तयार नहुँदा सर्वसम्मत प्रतिनिधि छनौट गर्न सकस परेको ती नेताले बताए। 

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट छनौट हुने ६ जना प्रतिनिधिका लागि खुल्ला र महिला गरी ३१ जनाले मनोनयन दर्ता गरेको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले जानकारी दिए। 

त्यस्तै क्षेत्र नम्बर २ बाट छनौट हुने १२ जना प्रतिनिधिका लागि ५२ जनाले मनोनयन दर्ता गरेको उनले बताए। क्षेत्र नम्बर ३ बाट ६ जना प्रतिनिधिका लागि ३१ जनाले मनोनयन दर्ता गरेका छन्। 

क्षेत्र नम्बर ४ मा भने भोलि मात्रै मनोनयन दर्ता हुँदैछ। ३ जना मात्र प्रतिनिधि चयन हुने क्षेत्र नम्बर ४ मा ८ जना भन्दा बढी आकाङ्क्षी देखिएको एमालेले जनाएको छ।

रुपन्देही क्षेत्र नम्बर ५ बाट ५ जना प्रतिनिधि छनोटका लागि १२ जनाले मनोनयन दर्ता गरेका छन्।

कात्तिक २६, २०७८ शुक्रबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।