सिंहले छाडे पौडेल समूह, सधैं प्रयोग मात्रै गरेको आरोप 

सिंहले छाडे पौडेल समूह, सधैं प्रयोग मात्रै गरेको आरोप 

काठमाडाैंः नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु भएको छ। पौडेल समूहका नेता प्रकाशमान सिंह सो समूहबाट बाहिरिएका छन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बोलाएको भेलामा नेता सिंह उपस्थित नहुने भएका हुन्। 

'संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्वाचित गराउन हिजो भोट हाल्ने कोइराला र रिजालहरू नै हैनन्?', ती नेताले उकेरासँग भने, 'सर्वसम्मत संसदीय दलको नेता चयन भए शशांकलाई छाड्नु पर्ने, शेरबहादुरसँग चुनाव लड्न पनि नसक्ने अनि समूहको नेतृत्त्व गर्दै प्रकाशमान सिंहले संसदीय दलको चुनाव लड्दा पनि भोट नहाल्ने अनि अहिले पौडेल समूहबाट कोटा लिएर मन्त्री चाहिँ आफू लिने। जित्ने ठाउँमा मात्र आफू अघि सर्ने, हार्ने ठाउँमा प्रकाशमान उठाउने, खाली प्रयोग मात्र हुने?'

यस्तै नेता सिंह मन्त्रिमण्डलमा भाग नदिएकोमा पनि असन्तुष्ट छन्। सिंहले काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधि सभामा चुनाव जितेका राजन केसीलाई मन्त्री बनाउन कम्मर कसेका थिए। तर, पौडेल र कोइराला मिलेर केसीलाई मन्त्री बन्न नदिएको प्रकाशमान सिंहको बुझाइ छ। 

सरकारलाई सहजीकरण गर्न बनेको समन्वय समितिमा पनि आफूनिकटसँग छलफल नगरी पौडेल बसेको सिंहको आरोप छ। 'अब महाधिवेशनमा भेट हुन्छ, तिनीहरूको फोन उठाउने भेट्ने अब प्रकाशमान सिंहबाट हुँदैन', सिंह निकट नेताले भने, 'रामचन्द्र शेरबहादुरको कार्यकर्ता भइसके, कुरा गर्नुपरे सिधै शेरबहादुरसँग कुरा गरौंला।'

ती नेताका अनुसार मनलाग्दी डाकिएको पौडेल समूहको बैठकमा प्रकाशमान सिंह जानुको औचित्य छैन। 'प्रकाशमान, रामचन्द्र र शशांकको कार्यकर्ता बन्नुपर्ने हैसियतको मान्छे पनि हैन र जरुरी पनि छैन, उनीहरू शेरबहादुरसँग जे पनि गर्न हुने, भेटेसम्म भाग खाने अनि हामीलाई सधैं वेवास्ता गर्ने, हामीले सधैं पौडेललाई किन बोक्नुपर्यो?' तिनले भने। 

अब, महाधिवेशनमा टीमसहित उम्मेदवारी दिने सिंहको तयारी रहेकाे छ।

कात्तिक २६, २०७८ शुक्रबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।