'रेडक्रसकाे निर्देशक हुँ' भन्दै ५० लाख ठगी गर्ने पक्राउ
काठमाडाैंः महानगरीय अपराध महाशाखाकाे टोलीले ठगी आराेपमा एक जनालाई पक्राउ गरेकाे छ। आफूलाई रेडक्रसकाे निर्देशक बताउँदै विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे।
शिवमले आफू मेडिकल व्यवसाय गर्ने बताउँदै आएका थिए। उनले मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरहरूसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भइरहेको भन्दै झुट्टा कागजात र कुराकानी तयार गरी विभिन्न व्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेका थिए।
उनीमाथि विभिन्न व्यक्तिहरूको स्वामित्वको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुटा कागजात तथा विवरण देखाई ठगी गर्ने गरेको पनि आराेप छ।
उनले आफूलाई रेडक्रसको निर्देशक हुँ भनि नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने गरेकाे पनि प्रहरीले जनाएकाे छ।
उनी यसअघि पनि ०७२ जेठ २२ गते पक्राउ परेका थिए। वैदेशिक रोजगारीसम्बन्धी कसूरमा डिल्लीबजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा उनी रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ।
उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
कात्तिक २६, २०७८ शुक्रबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।