विद्युत अभावमा उत्पादन घटाउँदै उद्योग: प्राधिकरण भने 'धेरै भयो' भन्दै भारतमा बेच्दै
बुटवलः पश्चिम नवलपरासी सुनवलमा रहेको सर्वोत्तम सिमेन्टले अहिले दैनिक २० हजार बोरा मात्र सिमेन्ट उत्पादन गर्छ। दैनिक एक लाख बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता भए पनि पर्याप्त बिजुली नहुँदा उद्योगले उत्पादन घटाएको हो।
सर्वोत्तम सिमेन्टका निर्देशक विष्णु न्यौपानेका अनुसार अहिले दैनिक उद्योगले ८ मेगावाट मात्र विद्युत पाएको छ। उद्योगको क्षमताअनुसार सिमेन्ट उत्पादन गर्न दैनिक ३० मेगावाट विद्युत आवश्यक हुन्छ।
न्यौपाने भन्छन्– ‘मागअनुसारको विद्युत नहुँदा उत्पादन कम गर्नुपरेको छ। यसमा पनि लो भोल्टेजले दुःख दिँदा जेनेरेटर हाईअलर्टमा राख्नुपर्ने बाध्यता छ।’
४ वर्षदेखि पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासमा रहेको होङ्सी सिमेन्टले विद्युतको माग गरिरहेको छ। तर अहिलेसम्म एक यनिट पनि विद्युत उद्योगले पाएको छैन्।
दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट र क्लिनकर उत्पादन गर्ने क्षमता रहेको उद्योगले अहिले दैनिक २० हजार बोरा सिमेन्ट र क्लिकर उत्पादन गर्दै आएको छ। चिनियाँ लगानीकर्ताको ५० अर्ब बढी लगानी यस उद्योगमा छ।
यता रुपन्देहीभित्र रहेका सिमेन्ट उद्योगमा दैनिक ३ सय मेगावाट विद्युतको माग छ। प्राधिकरणले जम्मा ८० मेगावाट विद्युत मात्र दिएको छ।
अर्घाखाँची सिमेन्ट उद्योगका व्यवस्थापन प्रमुख कृष्ण पाण्डेले विद्युत नहुँदा क्षमताअनुसारको सिमेन्ट उत्पादन गर्न नसकिएको बताउँछन्।
'माग गरेअनुसारको बिजुली नहुँदा डिजेल, फर्नेस आयलबाट उद्योग चलाउनुपर्ने बाध्यता छ। पैसा तिरेर विद्युत माग गर्दा पनि सरकारले दिन सक्दैन', उनले भने।
त्यस्तै घोराही, अर्घाखाँची, पाल्पा, बुटवल, सिजी, जगदम्बा, अग्नि सिमेन्ट लगायतका उद्योगमा दैनिक एक लाख लिटरभन्दा बढी फर्नेस आयलबाट बिजुली उत्पादन गरी सिमेन्ट उत्पादन हुने गरेको छ।
जगदम्बा सिमेन्टका नायब महाप्रबन्धक विदुर ढुंगानाले नेपालकै उद्योगहरूले माग गरेअनुसारको विद्युत नपाउने तर प्राधिकरणले भने भारतमा सस्तोमा विद्युत बिक्री गर्नु उचित नभएको बताए।
'उद्योगहरूले विद्युत नपाएर फर्नेस आयलबाट विद्युत उत्पादन गर्नुपरेको छ। यसरी सिमेन्टमा लागत मूल्य समेत बढेको छ। तर सरकार भारतमा विद्युतको व्यापार गर्छ। यो कस्तो परिपाटी हो?' उनले प्रश्न गरे।
नेपालले अहिले भारतलाई बिजुली बेचिरहेको छ। नेपालमा उत्पादित बिजुली खपत नभएकाले भारतमा बिक्री गर्नु परेको विद्युत प्राधिकरणले जनाएको छ।
हाल ३९ मेगावाट बिजुली भारतीय बजारमा बेच्न नेपालले अनुमति पाएको छ भने अरू आयोजनाको बिजुली पनि बेच्नका लागि अनुमति मागेको छ।
उद्योगीको माग सम्बोधन गर्न ३ सवस्टेसन बनाउँदै प्राधिकरण
उद्योगीहरूको माग अनुसार विद्युत आपुर्ति गर्न नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशका ३ स्थानमा सवस्टेनशनको काम अगाडि बढाएको छ। प्राधिकरणले नवलपरासीको सुनुवल ज्यामिरे, हकुई र रुपन्देहीको मैनहियामा सवस्टेशन निर्माण धमाधम गरिरेहेको छ।
प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालयका निर्देशक नवराज ओझाले उद्योगीलाई मागअनुसारको विद्युत आपुर्तिका लागि अहिले सुनवल ज्यामिरेमा ६३ एमबिएका दुइटा र २२.५ एमबिएको एउटा सवस्टेशन बनिरहेको बताए।
त्यस्तै हकुईमा १६ एमबिएको सवस्टेशन र रूपन्देहीको मैनहियामा पनि ४५ एमबिएको २ वटा सवस्टेशन बनिरहेको उनले बताए।
यी सवस्टेशन निर्माणसम्पन्न भएपछि उद्योगको मागबमोजिम विद्युत उपलब्ध गराउन सकिने उनको भनाइ छ।
सवस्टेशन निर्माणको काम ट्रान्समिसन लाइन आयोजनाले गरिरहेको र उक्त काम सम्पन्न भएपछि प्राधिकरणले फिडर निकालेर उद्योगहरूलाई वितरण गर्ने उनले बताए।
कात्तिक २६, २०७८ शुक्रबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।