५० रुपैयाँ तिर्न नसकेर शिक्षकबाटै अपहेलित सिद्धराज कसरी बने अस्पतालका मालिक ?

५० रुपैयाँ तिर्न नसकेर शिक्षकबाटै अपहेलित सिद्धराज कसरी बने अस्पतालका मालिक ?

सुर्खेतस्थित बाबियाचौर स्वास्थ्य चौकीका इन्चार्ज हुन्- अहेब सिद्धराज रेग्मी। २०२९ साल असार १९ गते अछामको साविक कालागाउँ गाविस– १ रोलमा जन्मिएका सिद्धराजले अहेबको जागिर खाएको २८ वर्ष भयो।

उनी १३ वर्षको हुँदा भारतबाट नेपाल आउने क्रममा बुबाको मृत्यु भयो। भारतीय प्रहरीले चिठी पठाएपछि मात्र सिद्धराजको परिवारले थाहा पायो, सिद्धराजको बाबुको मृत्युको खबर।

खबर त आयो तर के कारणले मृत्यु भयो भन्नेबारे सिद्धराजको परिवारले पत्तो पाउन सकेन। कसैले गाडीमा आउँदै गर्दा अपरिचित व्यक्तिले विष खुवाएर मारे भन्ने हल्ला फैलाए त कसैले आफैं बेहोस भएर मरेको भने।

सिद्धराज ९ वर्षको छँदा उनका बुबा भारतमा मजदूरीका लागि गएका थिए। तर पनि कहाँ के काम गर्छन् भन्ने कुरा थाहा थिएन। उनको डायरीमा नाम र ठेगाना भएका कारण प्रहरीले चिट्ठी पठाएको थियो।

घरमा आमा र तीन भाइबहिनी मात्रै थिए। आय–आर्जनको स्रोत थिएन। सात कक्षामा पढ्दै गरेका सिद्धराजले आफू पढ्न र भाइलाई पढाउन धेरै मिहिनेत गर्नुपर्यो। गाउँमा अरुको ज्यालादारी काम गर्ने, घाँस बेच्ने, भारी बोक्ने, खेतीपाती गरेर आफू र आफ्ना पाँच कक्षा पढ्दै गरेका भाइलाई कापी–कलमको जोहो गर्नुपर्थ्यो।

‘हामी छौं भन्ने सहारा पनि कोही थिएन गाउँमा। अंकलहरू सबै कैलाली बसाइँ सरिसकेका थिए। विभिन्न अभावका बाबजुद कक्षा १० सम्म पुगें,’ उनले सुनाए।

पढ्दै गर्दा कापी–कलमको अभावमा एक पटक लेखेको कापीमा मेटेर फेरि लेख्नुपर्ने बाध्यता त छँदै थियो। विद्यालयमा मासिक ५० रुपैयाँ शुल्क तिर्न नसक्दा शिक्षकबाट पनि अपहेलित भए उनी।

विभिन्न समस्याका बीचमा पनि २०४७ सालमा कक्षा १० मा फस्ट डिभिजनलाई एक नम्बर कम आएर सिद्धराज पास भए।

एसएलसी पास भए पनि उनलाई अगाडिका कक्षाहरु कसरी पढ्ने भन्ने विषयमा चिन्ता थियो। घरको आर्थिक स्थिति पनि निकै कमजोर थियो।

यही बीचमा उनी पढ्ने अन्नपूर्ण माविमा प्रावि शिक्षकको विज्ञापन खुल्यो। त्यसमा उनले दरखास्त दिए। ३५ जनाको दरखास्त पर्यो। नाम निस्कनेमा उनी ढुक्क थिए।

परीक्षा हुनु केही दिन अगाडि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले परीक्षा नलिई आफ्नो छोरालाई शिक्षक बनाइदिए र विद्यालयलाई १० रोपनी जग्गा दान दिने घोषणा गरे। अर्को एक जना गाउँकै भलाद्मी मान्छेले आफ्नो छोरालाई शिक्षक बनाए र एक वर्षसम्म निःशुल्क पढाउने घोषणा गरे।

यो सब कुराले सिद्धराजको मन खिन्न भयो। रेग्मीसँग न दान गर्ने जग्गा थियो न त एक वर्षसम्म निःशुल्क पढाउनसक्ने स्थिति नै।

फेरि परीक्षाका विषयमा विद्यालयमा अभिभावक भेला बस्यो। बालाराम रेग्मी जो सिद्धराजका अंकल नाता पर्थे, उनका छोराले पनि शिक्षकमा दरखास्त दिएका थिए। तर उनले आफ्नो छोराभन्दा पनि सिद्धराजलाई राखेपछि विद्यार्थीको पढाइ राम्रो हुने बताए।

अन्य अभिभावक र शिक्षकले त्यसको विरोध जनाए, ‘सिद्धराजले मात्रै एसएलसी पास गरेका छन् र? हाम्रा पनि छोरा–नाति छन्’ भने।

परीक्षा हुने नै भए पनि जिल्ला शिक्षाबाट माविनि र प्राविनि परीक्षा लिन आए।

आफूले छिटो नाम निकालेर छिटो नियुक्ति बुझ्न नपाउने चिन्ता सिद्धराजलाई थियो। तर अरु ३४ जनाले दरखास्त नै नदिएका अपांग व्यक्तिलाई परीक्षा नदिई नै नियुक्ति गर्ने षड्यन्त्र गरे।

सिद्धराजले पनि सोचे, ‘म जस्तो सवलांग त जहाँ गएर पनि जागिर खान सक्छु। अपांग व्यक्तिलाई अवसर दिनुपर्छ।’ सोही दिन ती व्यक्तिको नियुक्ति भयो।

शिक्षक सेवा आयोगको तयारी गर्दैगर्दा २०४८ चैतमा सरकारी कोटामा अहेब पढ्नको लागि जिल्ला स्वास्थ्य कार्यालय मंगलसेनमा विज्ञापन खुलेको थाहा पाएपछि सिद्धराजले दरखास्त हाले।

११ सय जनाको दरखास्तमा जिल्ला स्वास्थ्यले परीक्षा नलिई एसएलसीको नतिजामा जसको बढी अंक छ, उसैलाई प्राथमिकतामा राखेर नतिजा प्रकाशन गरेपछि उनको नाम पहिलो नम्बर आयो।

२०४९ साल वैशाख १ गते अहेब पढ्नका लागि अछामबाट पैदल हिँडेर धनगढी पुगेका उनी बाटोमा घरबाटै लगेका रोटी खाएर चार दिनमा पुगे।

२०४८ सालको निर्वाचनमा म्यादी प्रहरी भएर कमाएको ३५ सय रुपैयाँ सिद्धराजले अहेब पढाइमा खर्च गरे। एक वर्षसम्म पढ्दा ५६ सय खर्च गरेका उनी सरकारी होस्टेलमा बस्थे। अरुजस्तो खाजा र चिया पनि खाँदैनथे।

साथीभाइसँग भेटघाट हुँदा एक वर्षमा जम्माजम्मी चार कप चिया खाएको स्मरण गर्छन् उनी।

अहेबमा पनि फस्ट डिभिजनमा नै पास भएका उनले २०५० साल असार ६ गते काठमाडौं गएर अस्थायी नियुक्ति आए। अछामको धमाली उपस्वास्थ्य चौकीमा उनको जागिर सुरु भयो।


सिद्धराज रेग्मी

भाइको पढाइ खर्च र घर खर्चमा केही सहज भयो। डेढ वर्षसम्म अस्थायीमा जागिर गरेका उनले २०५१ साल असोजमा अछामको दर्ना उपस्वास्थ्य चौकीमा स्थायी नियुक्ति बुझे।

२०५३  सालमा उनको सरुवा सुर्खेतको छाप्रे उपस्वास्थ्य चौकीमा भयो।

त्यसपछि उनले सुर्खेतमै बस्ने निधो गरे। २०५४ साल वैशाख ८ गते बाबियाचौरमा आफ्नै मेडिकल खोले। औषधि ल्याउनका लागि वीरेन्द्रनगरमा चिनजानको मान्छे नहुँदा साविक गुटुको पाण्डे मेडिकल हलबाट आठ हजार नगद र आठ हजार उधारो गरी १६ हजारको औषधि ल्याएर मेडिकल सुरु गरेका थिए।

चार वर्षसम्म एउटा कच्ची घरबाट मेडिकल सुरुवात गरेका उनलाई स्थानीय देविचन्द बुढा र हरिप्रसाद रिमालले निःशुल्क घर उपलब्ध गराए। उनको निरन्तरको मिहिनेत र परिश्रमले २०५८ सालमा आफ्नै पक्की घरबाट सिद्ध मेडिकलको सेवा दिए। यता जागिरलाई पनि उनले उत्तिकै प्राथमिकतामा राखेका थिए। जागिरबाट बचेको बिहान–साँझको खाली समयमा आफ्नो मेडिकल चलाउँथे।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई उनले स्वास्थ्य चौकीबाट उपलब्ध हुने औषधि लिन सुझाव दिन्थे।

विभिन्न राजनीतिक घटनाक्रमले उनलाई सुर्खेतबाट दैलेख सरुवा गरियो। बाबियाचौरमा उनको मेडिकल बन्द भयो। दैलेखका साविकका ४० वटा स्थानीय निकायका स्वास्थ्य चौकीमा इन्चार्जको भूमिकामा रही स्वास्थ्य संस्थाहरुलाई नागरिकका लागि २४सै घन्टा सेवा दिन तल्लिन भए।

उनीसँग ग्रामीण क्षेत्रमा काम गर्दा भोगेका थुप्रै तितामीठा अनुभव पनि छन्। त्यो बेला गाउँमा बिजुली बत्ति थिएन। राति मान्छे बिरामी हुँदा नशा छामेर पनि सलायन दिएको उनको अनुभव छ।

यसरी आयो अस्पताल खोल्ने सोच
२०६९ मा दैलेखबाट पुनः बाबियाचौर सरुवा भएर आएपछि बन्द भएको मेडिकललाई फेरि सञ्चालनमा ल्याए उनले। एक जना ल्याब र एक जना अहेब, दुई जना स्टाफ राखेर व्यवस्थित तरिकाले मेडिकल चलाए।


सिद्धराजकाे अस्पताल

२०७२ सालमा उनका कान्छा छोराले एमबिबिएस कोटामा नाम निकाले। त्यसपछि २०७५ फागुन २७ गतेदेखि ‘पञ्चपुरी अस्पताल’ प्रालि सञ्चालनमा ल्याए।

अबको ६ महिनामा उनका कान्छा छोराले एमबिबिएस पढाइ सक्दैछन्। जेठा छोरा एमएससी सेकेन्ड पढ्दैछन्। श्रीमती प्रावि स्थायी शिक्षक हुन्।

अर्काको सानो झुपडीबाट मेडिकल सुरु गरेका सिद्धराज अहेबको सरकारी जागिरे मात्रै होइनन्, अहिले चारतले घरमा आफ्नै निजी अस्पतालको मालिकको रुपमा परिचित छन्।

पञ्चपुरी अस्पतालमा एमबिबिएस डाक्टरसहित २४सै घन्टा सेवा, हाडजोर्नी, नाक, कान, छाला, नशाको उपचार हुन्छ। अब २४सै घन्टा विशेषज्ञसहितको सेवा दिने योजना रहेको उनी बताउँछन्।

उनको अस्पतालमा अहिले १० जना स्टाफ काम गर्छन्। सबै स्थानीय हुन्। डाक्टरहरु भने बाहिरबाट आउँछन्।

पढाउने शिक्षकले नै ‘५० रुपैयाँ तिर्न नसक्नेले यो विद्यालयमा किन पढ्नु’ भनेको वचनले आफूलाई सफलतातिर डोहार्याएको सिद्धराज बताउँछन्।

‘जीवनमा धेरै संघर्ष गरियो। सधैं कापी–कलमको अभाव भयो। अहेब पढ्न जाँदा चार दिनसम्म पैदल हिँडेर घरबाट लगेका रोटी पनि खाइयो’, सिद्धराजले भने, ‘मानिसले जीवनमा कहिल्यै हार नखाई संघर्ष गर्दा सफलता प्राप्त हुँदो रहेछ भन्ने मेरो अनुभव छ।’

शिक्षकले लगाएको वचनको इखले उनले गत वर्ष अछामको मंगलसेन नगरपालिका–  १४ स्थित आफू पढेको अन्नपूर्ण माविमा डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकलाई लुगा र फलफूल, सबै तहका कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरे।

आफूजस्तै गरिब तथा जेहेन्दार विद्यार्थीका लागि आफ्ना बुबा र अंकलको नाममा तीन लाख रुपैयाँको अक्षयकोषको स्थापना समेत गरेका छन् सिद्धराजले। उनले अक्षयकोष तीन लाखबाट १० लाख पुर्याउने लक्ष्य राखेका छन्।

पहिला आफू जस्तै विपन्न ५ जना विद्यार्थीलाई १२ कक्षासम्म अध्ययनको जिम्मा समेत लिएको उनले बताए।

राज्यले सबै पालिकामा विशेषज्ञ डाक्टर सहितको व्यवस्था गरेपछि मात्रै ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने सिद्धराज बताउँछन्। 

कात्तिक २६, २०७८ शुक्रबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।