इटहरीका मेयर चौधरीले मञ्चबाटै माइक थुतेपछि एमालेको कार्यक्रम भाँडियो

इटहरीका मेयर चौधरीले मञ्चबाटै माइक थुतेपछि एमालेको कार्यक्रम भाँडियो

सुनसरी एमालेमा लामो समयदेखि चर्किएको विवाद समाधान गर्न अयोजना गरिएको कार्यक्रमस्थलबाटै मेयर चौधरीले माइक थुतेका हुन्।

२०७५ जेठ २ अगाडिको अध्यक्ष आफू भएको र आफूले कार्यक्रमको अध्यक्षता गर्न पाउनुपर्ने भन्दै उनले माइक निकालेका थिए। आफूले कार्यबाहक दिएका रमेश बस्नेतले कार्यक्रम बहिष्कार गर्ने र केन्द्रले तोकेका अध्यक्ष रेवतीरमणले पनि अध्यक्षता नगर्ने भएपछि आफूले अध्यक्षता गर्न पाउनुपर्ने चौधरीको माग थियो। 

सुनसरी एमालेका हालका अध्यक्ष भनिएका भण्डारी र कार्यबाहक अध्यक्ष बस्नेत दुवैले अध्यक्षता नगर्ने तर केन्द्रको नेताले हस्तक्षेप गर्ने कार्य जायज नभएको उनको तर्क छ।

जेठ २ मा फर्कने भए बस्नेत नभएर भण्डारीले अध्यक्षता गर्नुपर्ने उनको माग छ। त्यसअघिको जिल्ला परिषदको अध्यक्ष भएको हिसाबमा आफूले अध्यक्षता गर्न पाउनुपर्छ भन्ने माग राख्दै उनले विरोध जनाएका हुन्। इनरुवामा आयोजित सो कार्यक्रमको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौलाले अध्यक्षता गरेका थिए। 

उता कार्यबाहक अध्यक्ष रहेका बस्नेतले भने कार्यक्रम बहिष्कार गरेका छन्। उनले पनि पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै एकताको लागि आयोजना गर्ने भनिएको कार्यक्रम बहिष्कार गरेका हुन्। दुवै पक्षको सहमतिमा प्रदेश सदस्य खेमराज पोखरेललाई जिल्ला संयोजक बनाउने गरी सहमति भएको थियो।

कात्तिक २४, २०७८ बुधबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।