गणेशमानको जन्मजयन्तीमा कार्यक्रम : प्रधानमन्त्री पुगे, प्रकाशमान गएनन्

गणेशमानको जन्मजयन्तीमा कार्यक्रम : प्रधानमन्त्री पुगे, प्रकाशमान गएनन्

काठमाडौँ : २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रकाशमान सिंह सहभागी भएनन्। 

गणेशमानका छोरा प्रकाशमान बुधबार बिहान शोभाभगवतीमा रहेको शालिकमा माल्यार्पण गर्न भने पुगेका थिए। उनले राजनीतिक समन्वय समिति संविधान विपरीत रहेको बताएका प्रकाशमानका सहयोगी युपी लामिछानेले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका थिए। 

प्रतिष्ठानले गरेको कार्यक्रममा भने प्रकाशमान पुगेनन्। प्रतिष्ठानले गरेको कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा शासनविरुद्ध उभिएका गणेशमान सिंहलाई सम्झिए।

देउवाले भने,‘जनता भन्दा ठुलो शक्ति छैन, प्रजातन्त्रको मालिक जनता हुन्।’ उनले निष्पक्ष चुनाव महत्त्वपूर्ण भएको बताए। प्रजातन्त्रको खिलाफमा कोही हुन नसक्ने भन्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोग कसैको प्रभावमा नपर्ने बताए।

संविधानको अन्तिम व्याख्या अदालतले गर्ने भन्दै चित्त बुझे पनि नबुझे पनि स्विकार्नु पर्ने बताए। ‘कुनै समय अस्थिर राजनीति प्रणाली थियो। अहिले स्थिर हुँदैछ।

'बेमौसमी वर्षा भइरहेको छ। वातावरण जोगाउनु पर्छ,’देउवाले भने,‘हिमाल नाङ्गो भए के हुन्छ?’

उनले ग्लास्गो सम्मेलनमा पेट्रोलियम पदार्थबाट संसारले मुक्ति पाउनुपर्ने कुरा उठाएको सुनाए। उनले नेपालको बिद्युत् कहाँ बेच्ने भन्ने तनाव समेत हुने उल्लेख गरे।

उनले प्रजातन्त्रविरुद्ध मान्छेहरू सलबलाउन थालेको भन्दै विचार गर्नुपर्ने बताए। उनले समावेशी संविधान जोगाउनु पर्ने बताए। 

कात्तिक २४, २०७८ बुधबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।