कलाको आवरणमा मानव ओसारपसार : कानुन भन्छ- अपराध, कलाकार भन्छन्- धर्म
झन्डै तीन दशकअघि नृत्यका पारखीहरूको पहिलो रोजाइ थिए, नृत्य निर्देशक विश्वबन्धु घिमिरे।
परम्परागत नृत्यले मानिसलाई वाक्क बनाइरहेका बेला उनले पाश्चात्य नृत्यलाई नेपालसँग परिचय गराए। नेपालमा ज्याज डान्स भित्र्याउने श्रेय पनि घिमिरेलाई नै जान्छ।
बिसौँ शताब्दीमा अमेरिकामा चर्चा कमाउन सफल नृत्यको एक फर्म हो ज्याज डान्स। घिमिरेले ज्याज डान्सको कोरियोग्राफी गरे। साथै धेरै विद्यार्थीलाई नेपालमै सिकाए। उनले सिकाएका विद्यार्थीहरू नै यतिबेला नृत्यको क्षेत्रमा नाम कमाइरहेका छन्।
घिमिरे बिस्तारै आफैँले सिकाएका विद्यार्थीको हुलमा छेकिन पुगे। विद्यार्थी नयाँ कुराको खोजमा लागे तर घिमिरेले आफूलाई नयाँ तरिकाले प्रस्तुत गर्न सकेनन्। त्यसमाथि इन्टरनेटको दुनियाँका दर्शकलाई उनको काम खासै नौलो लागेन।
चर्चा कम हुँदै गएकाले पछिल्लो पुस्ताले नृत्य निर्देशक घिमिरेको नाम खासै सुनेका छैनन्। राम्रै फ्रेम कमाएका घिमिरे रातारात ओझेलिँदा बिस्तारै कुलतमा पनि फस्दै गए। उनको नाम धेरै महिलासँग जोडियो। घरमा श्रीमती हुँदाहुँदै काठमाडौँको डेरामा अर्की श्रीमती राखे। उनको बानी व्यवहारले साथीहरू पनि टाढा हुँदै गए।
साधना कला केन्द्रमा झन्डै तीन दशकदेखि नृत्य प्रशिक्षकको रूपमा काम गरेका घिमिरेलाई केही हप्ताअघि मात्रै प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो। पक्राउ पर्दा उनी पहिलेको जस्ता शारीरिक रूपमा सुन्दर थिएनन्। उमेर नपुग्दै बुढ्यौलीले छोपेको देखिन्थ्यो।
घिमिरे मानव बेचबिखनको मुद्दामा पक्राउ परेका हुन्। नाँच सिकाउँदा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौँबाट भारतको बैंगलोर लगेर बेचेको आरोप छ उनीमाथि। यो आरोप उनले स्वीकार गरिसकेको प्रहरीको दाबी छ।
प्रहरीसँग घिमिरेले आफूले मानव बेचबिखन गरेको नभई धर्म गरेको बयान दिएका छन्। आर्थिक रूपमा सम्पन्न बन्न काम लगाइदिएको दाबी बयानमा छ। आफूले नृत्य सिक्न आउने धेरै केटीहरूलाई विदेशमा काम लगाइदिएको उनले प्रहरीसमक्ष बताएका छन्। अन्य युवतीको भने अहिलेसम्म मुद्दा परेको छैन।
बैंगलोरको चिफ इन र सेनोरिता भन्ने रेस्टुरेन्टमा यौन व्यवसाय गर्न बाध्य पारिएकी किशोरीलाई माइती नेपालले उद्धार गरेर काठमाडौँ ल्याएको थियो। ती किशोरीको बयानका आधारमा प्रहरीले कात्तिक ६ गने घिमिरेलाई पक्राउ गरेको थियो। मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको जनाएको छ।
बेचिएकी युवतीको मानसिक अवस्था अझै स्वस्थ बनिसकेको छैन।
०००
तीन वर्षअघि चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई मानव ओसारपसार तथा बेचबिखनको अभियोगमा पक्राउ गरिएको थियो। उनले कराँते गुरु सम्बन्धी ‘सोसी मासातासु ओयामा एन्ड कोकिसिन वे’ नामको डकुमेन्ट्री बनाउने भन्दै नेपालबाट १३ जना मानिसलाई कलाकार बनाएर दक्षिण कोरिया उडाएका थिए। तर फर्कँदा दुई जना मात्रै फर्किए।
दक्षिण कोरियाबाट दुई जना मात्रै फर्किएपछि त्यहाँ अवस्थित नेपाली दूतावासको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई एउटा सूचना पठायो, ‘नेपालबाट आएका एक जना कलाकारसँग यहाँ आएका ११ जना फर्किएका छैनन्।’
खड्गी १२ दिनको कोरिया बसाइपछि नेपाल फर्किएका थिए। कोरियन दूतावासको सूचनापछि नेपाल प्रहरीले २०७४ साल माघ २५ मा खड्गीलाई पक्राउ गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा खड्गी दोषी देखिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गर्यो। खड्गीले बिना हिचकिचाहट गल्ती स्वीकार पनि गरे। आजीवन कैद सजाय सुनाइएका खड्गी ५ लाख धरौटीमा रिहा भए।
अपराध मान्दैनन् कलाकार
कानुनले कलाकार तथा खेलाडी बनेर विदेश लैजानेलाई मानव ओसारपसार तथा बेचबिखनकै कोटीमा राखेको छ। कलाकार, खेलाडी बनाएर आर्थिक कारोबार सहित विदेश लैजानु अपराध हो। यो गैरकानुनी हो।
तर, कला क्षेत्रका मानिसहरू यसलाई अपराध मान्न तयार छैनन्। नृत्य निर्देशक शिव विक यसरी विदेश लैजानुलाई सामान्य तरिकाले हेर्छन्। पक्राउ परेका घिमिरेका नजिकका साथी समेत रहेका विकले भने, ‘आफूले थोरै रकम लिएर कसैको जीवन राम्रो बन्छ भने त्यसलाई मानव ओसारपसार भन्न मिल्दैन। यो त कलाकारको पेट पाल्ने सामान्य प्रक्रिया हो।’
कलाकारिताको बाटोले मात्रै बाँच्न समस्या परेपछि धेरै साथीहरू यस्तो काममा रहेको विकले सुनाए। उनले भने, ‘यदि बेच्ने नै नियतले यताबाट झुक्क्याएर लगेको हो भने कानुन लाग्छ तर कार्यक्रममा लिएर गएको, त्यता राम्रो वातावरण मिलेकाले फर्किएनन् भने त्यो अपराध हुन सक्दैन।’
विदेशका होटलहरुमा राम्रो कमाइ हुने र नेपालबाट कलाकारहरू त्यहाँ लैजाने काम पनि सामान्य रहेको उनको भनाइ छ। ‘नेपालमा काम गरेर खानै समस्या पर्छ, विदेशको कुनै होटेलमा कलाकै काम गर्न कलाकार बनेर जान्छ भने यो कसरी अपराध हुन्छ,’ उनले प्रतिप्रश्न गरे।
विक मात्रै हैन, अन्य कलाकार पनि यसलाई अपराधको रूपमा स्वीकार गर्दैनन्। एक खुट्टाले देश विदेशका स्टेजमा नृत्य गरिसकेकी सीता सुवेदी भन्छिन्, ‘हामीहरू विदेशको कार्यक्रममा जाँदा हरेक पटक गएकोभन्दा कम साथी नेपाल फर्किएका छन्। उनीहरूले उतै बसेर काम गरेर राम्रो आम्दानी गरिरहेका छन् भने यसलाई कसरी अपराध मान्नु।’
नेपालमा निकै चर्चित कलाकारहरूले यसरी विदेश लिएर गइरहेको पनि उनले बताइन्।
यही कुरा प्रहरीको बयानमा द्वन्द्व निर्देशक खड्गीले पनि बताएका थिए। उनले बयानमा भनेका थिए, ‘सबैले लगिरहेका थिए। सामान्य सोचेर मैले पनि लगेको हुँ। यो अपराध भन्ने थाहा थिएन।’
कानुन भन्छ अपराध हो
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ ले कुनै व्यक्तिलाई नेपाल बाहिर मात्रै हैन, नेपाल भित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्यलाई मानव ओसारपसारको सूचीमा राखेको छ। कलाकार बनाएर विदेश लैजाने कार्यलाई सङ्गठित अन्तरदेशीय अपराधको सूचीमा राखेको छ।
कलाकार, खेलाडी, व्यापारी बनाएर विदेश लैजाने काम अपराध भए पनि नेपालमा यसको मुद्दा निकै कम पर्ने गरेको मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोकी प्रमुख दुर्गा सिंहले जानकारी दिइन्। उनले भनिन्, ‘ब्युरो स्थापना भएको दुई वर्ष भयो, कलाको आवरणमा मानव ओसारपसार भएको मुद्दा दर्ता भएको विश्वबन्धु घिमिरेको पहिलो हो।’
उनले मानव ओसारपसारले दुई व्यक्तिलाई फाइदा भए पनि राज्यलाई घाटा हुने बताइन्। त्यसैले उद्धार या धर्मको नाममा मानव ओसारपसार नगर्न उनले सबैलाई आह्वान गरिन्। भनिन्, ‘कलाकार बनेर विदेश जानु र उतै पलायन हुनु गैरकानुनी हो। यसले ज्यान नै जोखिममा पनि पर्न सक्छ।’
अनुसन्धान ब्युरोमा गैरकानुनी बाटोबाट विदेश गएर समस्यामा परेकाले मात्रै मुद्दा दर्ता गराएको उनको भनाइ छ। उनले भनिन्, ‘अहिले विश्वबन्धु घिमिरेको पनि मुद्दा दर्ता हुन्थेन होला तर उनी समस्यामा परिन्, उद्धार भयो र मुद्दा दायर भयो।’
कात्तिक २४, २०७८ बुधबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।