कुमारी बैंकको कर्मचारीको ठगी : सक्कली योगेश्वर अमात्यको जग्गा राखेर नक्कली योगेश्वरलाई १९ करोड ऋण

कुमारी बैंकको कर्मचारीको ठगी : सक्कली योगेश्वर अमात्यको जग्गा राखेर नक्कली योगेश्वरलाई १९ करोड ऋण

बैङ्कका २ जना कर्मचारी र अन्य २ जना मिलेर नक्कली लालपुर्जाको आधारमा १९ करोड ऋण प्रवाह गरेको र पोल खुलेपछि नक्कली जग्गाधनी र बैङ्क मिलेर ऋण उठाएका थिए। अमात्यले जग्गाको हेरचाह गर्न राखेका व्यक्तिले सोबारे जानकारी पाएपछि प्रहरीमा जाहेरी पर्यो र नक्कलकी जग्गाधनी र बदमासी गर्ने बैङ्क कर्मचारी पक्राउ परे।

घटना एक साता अगाडिको भए पनि प्रहरीले विवरण सार्वजनिक गरेको थिएन। गायक अमात्यको नाममा बारामा १२ बिगाहा जग्गा थियो। उनले सो जग्गा कमाउन स्थानीयलाई जिम्मा दिएका थिए।

काठमाडौँका एसके महर्जन र मुक्तिलाल गौतम नक्कली लालपुर्जा बनाएर कुमारी बैङ्कको बारा शाखामा ऋण निकाल्न प्रक्रिया सुरु गरे। बैङ्कका ऋण अधिकृत र सम्पत्तिको मूल्याङ्कनको जिम्मा पाएकाहरू मिलेर दुवै जनाको नाममा १९ करोड ऋण सदर गरिदिए।

यता जग्गाको नक्कली लालपुर्जा राखेर ऋण निकाले पनि मालपोत कार्यालयमा भने जग्गाधनीमा अमात्यकै नाम थियो। पछि अमात्यको जग्गाको रेखदेख गर्ने व्यक्तिले घटनाबारे जानकारी पाएपछि अमात्यलाई खबर गरे।

सूचना पाएपछि उनले प्रहरीमा जानकारी गराए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गर्दा किर्ते लालपुर्जाको आधारमा ऋण निकालिएको र २ महिना अगाडि नै बैङ्कले ऋण समेत असुली सकेको खुल्यो।

तर सरकारी कागजपत्र किर्ते गरेर बदमासी गरेको देखिएपछि ब्युरोको टोलीले बैङ्कका २ जना र नक्कली जग्गा धनी दुवै जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ।

'जग्गाधनीबाट आफ्नो नामको जग्गा अर्कैले बैङ्कमा राखेर ऋण निकालेको जानकारी आएपछि हामीले अनुसन्धान गरेका थियौँ,' ब्युरोका डिआइजी धिरज प्रताप सिंहले भने' अनुसन्धानमा बैङ्कका कर्मचारी र नक्कली जग्गाधनी मिलेर ऋण निकालेको देखिएपछि ४ जनालाई पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ।'

कात्तिक २३, २०७८ मंगलबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।