ओटीटी: प्रशस्त अवसर तर पाइरेसी, लगानी र सेन्सरले झमेला

ओटीटी: प्रशस्त अवसर तर पाइरेसी, लगानी र सेन्सरले झमेला

नेपाली फिल्ममा लगानी करोडमा पुग्नु सामान्य भइसकेको छ। कलाकारले नै ५० लाखसम्मको पारिश्रमिक लिएको समाचार आइरहेका हुन्छन्। तर नेपालीलाई भने करोडमा बनेको फिल्म निशुल्क हेर्ने बानी परेको छ।

डिजिटल युगको सुरुआतसँगै हलबाट उत्रिएका चलचित्र देखाउने उपयुक्त माध्यम बनेको छ- युट्युव। यसैका कारण दर्शकले घरै बसीबसी निशुल्क फिल्म हेर्न पाउने भए। 

तर 'फिल्म युट्युवमा कहिले आउँछ?' भन्ने प्रश्नको सामाना गर्नुपर्दा भने नराम्रो लाग्ने चलचित्रकर्मी खगेन्द्र लामिछाने बताउँछन्। 

खगेन्द्र भन्छन्, 'किसानले पाँच रुपैयाँमा किनेको बीउबाट फलाएको काउली त नाफा नखाई बेच्दैन भने करोडको फिल्म निशुल्क हेर्न दिँदा हामीलाई कति पीडा भएको होला?' 

खगेन्द्रलाई 'पशुपति प्रसाद' निकै मन पर्यो? भन्ने प्रतिक्रिया पनि टन्नै आउँछ। तर प्रतिक्रियाले उनलाई खुशी भने दिँदैन। 

हलमा सन्तोषजनक व्यापार गरिरहेकै समयमा फिल्म पाइरेसीमा पर्योस। इन्टरनेटमा जताततै भेटिन थाल्यो। जति धेरै मानिसले पशुपति प्रसाद हेर्थे, उति चलचित्रका निर्माता घाटामा जान्थे।

त्यसैको रन्कोमा उनी अध्यक्ष बनेर 'सिनेमाघर' नामको एप लञ्च गरे। निशुल्क फिल्म हेर्न बानी परेका दर्शकका लागि उनले वार्षिक पाँच सय रुपैयाँमा एपमा रिलिज भएका फिल्म हेर्ने सुविधा दिएका छन्।

अबको विकल्प ओटीटी 
कोभिड-१९ ले दिएको गतिलो उपहार हो- डिजिटल स्क्रिनिङ प्ल्याटफर्म। यति बेला यिनै माध्यममार्फत हलिउड र बलिउड चलायमान छन्।

नेपालमा भने यो अवसरलाई मुठीमा लिन नसकेको निर्माता माधव वाग्ले बताउँछन्। उनी भन्छन्, 'निर्माताहरू अझै पनि हल रिलिजका लागि कुरेर बसेका छन् तर अबको विकल्प ओटीटी (ओभर द टप) नै हो।'

वाग्लेका अनुसार अब माध्यमभन्दा पनि कन्टेन्ट महत्त्वपूर्ण हो। विश्व बजारमा नेपाली फिल्म पुर्याउने विकल्प पनि ओटीटी नै हो।

नेपाली फिल्मको बजार फरकिलो हुँदै गए पनि बजारसँगै कुद्न नसके नेपाली फिल्म निकै पछाडि पर्ने उनको भनाइ छ। 

पाइरेसीको चुनाैती
पाइरेसी अर्थात् बौद्धिक चोरी। चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दयाराम दाहाल पाइरेसीलाई रोक्न नसकिने बताउँछन्। 

उनका अनुसार ओटीटीको सबैभन्दा ठूलो चुनौती नै यसबाट हुने पाइरेसीको रोकथाम हो।

नेपालको कानूनमा पाइरेसी दण्डनीय अपराध हो। पाइरेसी गरेमा दुई वर्षको जेल सजायदेखि १० लाखसम्म जरिवानाको दण्डव्यवस्था गरिएको छ। 

झण्डै चार वर्षअघि सिनेमाघर एपबाट 'जात्रा' पाइरेसी भएको थियो। १२ कक्षामा पढ्दै गरेका एक विद्यार्थीले फिल्म पाइरेसी गरेका थिए। 

त्यसको झण्डै ८ महिनाअघि २५ वर्षीय सुजन परियारलाई पनि प्रहरीले फिल्म पाइरेसीकै मुद्दामा पक्राउ गरेको थियो। ती युवकले सिनेमाघर एपमा भएको सबै फिल्महरू पाइरेसी गरेका थिए। पक्राउ परेका यी युवा शिक्षक समेत थिए। 

अशिक्षा र अज्ञानताका कारण मात्रै नभई पाइरेसी भनेको अपराध हो भन्ने कुराको बोध नभएकाले पनि यस्ता घटना दोहोरिने लामिछाने बताउँछन्। 

सिनेमाघर एपका प्रमुख कार्यकारी अधिकृत सागर खरेलका अनुसार जानीबुझी नै पाइरेसी भइरहेका छन्। उनी भन्छन्, 'विभिन्न बाजी खेल्ने र जितेको खण्डमा कुन फिल्म पाइरेसी गरेर दिने भन्ने सर्त सामाजिक सञ्जालमा लगाइरहेको देखिन्छ।' 

उनका अनुसार कतिपयले भने टेलिग्रामलगायतका एपमार्फत पैसाको लोभमा पनि पाइरेसी गर्ने गरेको बताए। 

अभाव लगानीको
ओटीटीको मुख्य समस्या भनेको लगानी हो। 'चपली हाइट'का निर्माता अर्जुन कुमार ओटीटी नेपालमा मौलाउन नसक्नुका कारण लगानी देख्छन्। 

उनको चलचित्र पनि कोभिडअघि नै बनेर प्रर्दशन मिति समेत घोषणा भएको थियो। तर लामो समयसम्म फिल्म फ्रिज भयो। पछि ओटीटीमा प्रर्दशन गर्न केही एपमा कुरा समेत गरे। 

तर ओटीटी सञ्चालकले उनको फिल्म मार्जिन बेसमा लिएनन्। स्क्रिन शेयरिङको आधारमा मात्रै फिल्म प्रर्दशन गर्ने भनेपछि अर्जुन कुमारले ओटीटीबाट हात झिके।

उनी भन्छन्, 'फिल्ममा करोडको लगानी म एक्लैको हुने, अनि फिल्म ओटीटीलाई दिएर हेरे बापत केही प्रतिशत पैसा मात्रै लिने भन्ने कुरा कत्तिको न्यायसंगत हो?' 

बिनालगानी, बिनामेहनत ओटीटीले आम्दानी मात्रै खोजेको उनको आरोप छ।

अर्जुनका अनुसार बलिउड फिल्म 'लक्ष्मी बम' नेट टिभीले मार्जिन बेसमा किनेको थियो। तर नेपाली फिल्म भने शेयरिङ बेसमा मात्रै प्रर्दशन गर्ने भन्यो। उनी भन्छन्, 'यो अन्याय हो।'

उनले हाल ओटीटीबाट हात झिकिसकेका छन्। आगामी पुस २ गतेका लागि नयाँ चलचित्रको प्रर्दशन मिति घोषणा भइसकेको छ। 

अन्य देशमा ओटीटीले नै फिल्म निर्माण गर्ने भएकाले लगानीको समस्या नदेखिएको उनको भनाइ छ। 

नेपालमा भने ओटीटीहरूले महँगो फिल्म बनाउन सकिरहेका छैनन्। त्यस्तै मार्जिन बेसमा फिल्म किन्न पनि सकिरहेका छैनन्। 

सेन्सरको झमेला
चलचित्र विकास बोर्डले नेपालमा फिल्मको सेन्सर गर्छ। प्रर्दशन गर्न मिल्ने/नमिल्ने, बालबालिकाले हेर्न मिल्ने/नमिल्ने, अभिभावको साथमा हेर्न मिल्ने/नमिल्ने लगायतको प्रमाणपत्र दिएपछि मात्रै फिल्म हलमा प्रर्दशनमा आउँछ।

पहिले ओटीटीमा जाँचपास गर्नुपर्ने नियम थिएन। बलिउड फिल्म 'राधे' नेपालमा ओटीटीमार्फत बिनासेन्सर प्रर्दशनमा आएको थियो। त्यसको चौतर्फी विरोध भएपछि बोर्डले ओटीटीमा पनि जाँचपास गर्नुपर्ने उद्घोष गरेको हो। 

तर ओटीटीले सेन्सर मान्दैन। नेपाली फिल्ममा मात्रै सेन्सर लगाउने भन्ने हुँदैन। ओटीटीले विदेशी फिल्म पनि बिनासेन्सर चलाउन सक्छ।

केही समयअघि प्रदर्शनमा आएको फिल्म 'एक'ले भने बिनासेन्सर ओटीटीमा फिल्म प्रर्दशन गर्यो।

ओटीटीमा सेन्सर लगाउने देश नेपाल मात्रै हो। नेटफ्लिक्स, अमेजन प्राइमलगायतका एपहरूले बिनासेन्सर फिल्म तथा सिरिजहरू प्रर्दशन गर्छन्। ती एपहरू नेपालमा समेत खुलेआम चल्छ। 

ओटीटी प्ल्याटफर्ममा समेत सेन्सरको कुरा गर्नु मुर्खता भएको समीक्षक समाजका अध्यक्ष तथा निर्देशक दिपेन्द्र लामा बताउँछन्। 

उनले भने, 'डिजिटल माध्यम भनेको कसैको रोकतोकमा नअडिने माध्यम हो। अन्य देशका फिल्महरू सेन्सरबिनै प्रर्दशनमा आउँछन् भने नेपाली फिल्ममा मात्रै सेन्सरको झन्झट गर्नु गलत हो।'

कात्तिक २३, २०७८ मंगलबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।