कसरी हुन्छ सुनको मूल्य निर्धारण ?
काठमाडौं : केही समययता सुनचाँदीको मूल्यमा ठूलो उतार–चढाव देखिएको छ। यही कात्तिक १८ गतेदेखि स्थिर रहेको सुनको मूल्य सोमबार एक्कासि १५ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ।
नेपालमा सुनचाँदीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी, रत्न तथा आभूषण महासंघले निर्धारण गर्ने गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य संसारका सबै देशहरूमा सुनचाँदीको कारोबार हुँदा अन्तर्राष्ट्रिय सुनको मूल्यलाई नै आधार मानेर मूल्य निर्धारण गरिने बताउँछन्।
कसरी हुन्छ सुनको मूल्य निर्धारण?
सुनको अन्तर्राष्ट्रिय मूल्य सन् १९३३ मा ३५ डलर प्रतिआउन्स रहेको थियो। पछि विभिन्न कारणले सुनको मूल्यवृद्धि हुँदै सन् २०११ मा १९२४ डलरसम्म पुगेर सन् २०१६ मा १०५० डलरमा पुगी अहिले पुनः बढेर १९२० डलर प्रतिआउन्सको मूल्यमा कारोबार भइरहेको छ।
यसरी ९० वर्षको अन्तर्राष्ट्रिय सुनको मूल्यलाई अध्ययन गर्दा धेरै नै तलमाथि भएको देख्न सकिन्छ।
अमेरिका विश्वकै सबैभन्दा बढी सुनको सञ्चय भएको देश भएकाले न्युयोर्कको न्युयोर्क मर्कन्टाइल एक्सचेन्ज र कमोडिटी एक्सचेन्जमा किनबेच हुने भाउले सबैभन्दा बढी प्रभाव पार्छ। त्यसपछि लन्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन मार्केट, हङकङको चाइनिज गोल्ड एन्ड सिल्भर एक्सचेन्ज गोल्ड एक्सचेन्ज, दुबई गोल्ड एन्ड कमोडिटी एक्सचेन्जले गर्छ। दुबईको कारोबारहरूको मूल्यबाट सुनको बजारमा हुने उतारचढावले विश्वको सुनचाँदीको भाउ निर्धारण गर्छ।
अमेरिकी, युरोपियन र एसियन बजारहरूमा हुने कारोबारको समग्र मूल्यले संसारमै सुनको बजार–भाउ तोकिरहेको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढावको प्रत्यक्ष असर नेपाली सुन बजारमा पनि तत्काल पर्ने शाक्य बताउँछन्।
विगतमा सञ्चारका साधनहरूको विकास नहुँदा यसको असर कम हुन्थ्यो भने अहिलेको समयमा यस्तो प्रभाव अझ बढी पर्न थालेको उनी बताउँछन्। ‘सूचना प्रविधिमा आएको विकास, इन्टरनेट, फोन जस्ता साधनको प्रयोगले विश्वलाई नै सानो देश जस्तो बनाइसकेको सन्दर्भमा नेपालको सुनको बजार अछुतो रहनसक्ने कुरै भएन नि। प्रविधिलाई आत्मसात गरिएन भने सुनको पारदर्शी, व्यवस्थित र उपयुक्त भाउको निर्धारण गर्नै सकिँदैन,’ उनले भने।
विश्वभरि कुनै पनि देशमा सुनको भाउ तोक्ने काम सरकारले गर्दैन। विभिन्न देशमा रहेका गोल्ड तथा कमोडिटी एक्सचेन्जहरूमा भएका कारोबारका आधारमा सुनचाँदीको भाउको सञ्चार हुँदै जाने शाक्य बताउँछन्। विभिन्न एक्सचेन्जहरुमा भएका कारोबारका आधारमा सुनचाँदीको भौतिक र फ्युचर करारहरुको कारोबार हुन्छन्।
‘संसारभरिका विभिन्न लगानीकर्ताले विभिन्न एक्सचेन्जहरूमा गर्ने हजारौं, लाखौं त्यस्ता कारोबारका कारण क्षणक्षणमा सुनचाँदीको भाउ तलमाथि भइरहेको हुन्छ,’ उनी थप्छन्, ‘ती करारहरू कसरी परिपक्व हुन्छन्, त्यसको आधारमा सुनचाँदीको आवधिक मूल्यको निर्धारण भइरहेको हुन्छ। तर कमोडिटी मार्केटको भाउमा नाफा–घाटाको मात्र कारोबार बढी हुन्छ भने भौतिक बजारमा भौतिक सुनचाँदीको नै कारोबार र लेनदेन भइराखेको हुन्छ। खरिदकर्ताले कतिसम्म मूल्य तिर्न सक्छ र बिक्रीकर्ताले कतिसम्ममा बिक्री गर्नसक्छ, मूल्य त्यसैमा आधारित भएको हुन्छ।’
सुनको मूल्य निर्धारण प्रक्रियामा प्रभाव पार्ने विभिन्न कारण हुन्छन् तर सबैभन्दा मुख्य कारण माग र आपूर्ति नै हो। त्यसैले वस्तुको बजारमा माग र आपूर्तिको ठूलो भूमिका हुन्छ। यसले सुनचाँदीको मूल्य निर्धारणमा प्रमुख भूमिका सधैं खेलिरहने उनी बताउँछन्।
विश्वका सबैजसो देशहरूमा बुलियन एसोसिएसनहरूले सुनचाँदीको दरभाउ तोक्ने गर्छन्। भारतमा द इन्डियन बुलियन ज्वेलर्स एसोसियसनले सुनचाँदीको दैनिक दरभाउ तोक्छ।
सबै देशहरूको आर्थिक विकासमा यस्ता एक्सचेन्जहरूले ठूलो परिमाणको कारोबार गरी राजस्व, आर्थिक सुरक्षा, वित्तीय सुरक्षा र रोजगारीका लागि महत्वपूर्ण योगदान दिने महासंघ अध्यक्ष शाक्य बताउँछन्।
‘छिमेकी देश भारत र चीनको कुल गार्हस्थ आम्दानीको १३ देखि १५ प्रतिशत आम्दानी सुनचाँदीको क्षेत्रबाट भइरहेको तथ्यांक रहेको छ,’ शाक्यले भने।
नेपालमा कसरी हुन्छ सुनको मूल्य निर्धारण?
वि.सं. २०४४ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ स्थापना भयो। संघले आफ्नो स्थापनाको वर्षदेखि नै नेपालको सुन बजारलाई एकरूपता दिन संगठित रूपमा आधिकारिक सुनचाँदीको भाउ तोकेर प्रकाशित गर्यो।
संसारभरि नै यस्तै व्यवसायी संघ, एक्सचेन्ज जस्ता व्यापारिक संस्थाहरुले सुनचाँदीको दरभाउ तोक्ने प्रचलनलाई आत्मसात र अनुशरण गरी सुरु गरिएको उक्त कदमले नेपालमा संस्थागत सुनचाँदीको बजारको सुरुआत गर्यो।
त्यस समयभन्दा पहिला राणाकालीन समयदेखि विभिन्न सर्राफीलगायत व्यापारीहरूको विभिन्न रूपको सुनचाँदीको दरभाउबाट बजार सञ्चालित भएको शाक्य बताउँछन्। संघबाट प्रकाशित भाउबाट सबै सुनचाँदी पसलहरूमा एउटै भाउमा सुनचाँदी उपलब्ध हुने भएपछि उपभोक्ताहरुलाई पनि सजिलो भएको उनको भनाइ छ।
‘२०६९ सालमा नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापनापश्चात् नेपालभरिको लागि सुनचाँदीको दरभाउ मूल्य निर्धारण गर्ने काम महासंघले नै गर्दै आएको छ,’ अध्यक्ष शाक्य थप्छन्, ‘नेपाल राष्ट्र बैंकले सुनचाँदी वितरण कार्यविधि २०६८ मा स्पष्ट रुपमा सुन आयात गर्ने बैंकलाई ०.५ प्रतिशत र सुन किन्ने व्यवसायीलाई ०.५ प्रतिशतसम्म मुनाफा जोड्न पाउने भनी स्पष्ट व्यवस्था गरिदिएअनुसार नेपालको सुन बजारको मूल्य निर्धारण भइआएको छ।’
के छ समस्या?
नेपालमा २०६३ सालदेखि ओपन जनरल लाइसेन्स प्रणालीमार्फत सुनको आयात गर्ने ढोका खोलिएको छ। झिटीगुन्टा भारीको प्रावधानअनुसार विदेशबाट नेपाल आउने नेपालीले लिएर आउने सुनमा मात्र आपूर्तिको स्रोत रहेकोमा ओजिएलमार्फत सुन ल्याउन दिएपछि विभिन्न बैंक तथा व्यवसायीहरूलाई पनि आयात गर्न बाटो खुलेको शाक्यको भनाइ छ।
२०६६ सालबाट नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति ६ महिनाको वस्तु तथा सेवा आयात गर्न मात्र पुग्नेगरी घटेपछि सीमित समयको लागि सुनको आयात बैंकहरुलाई मात्र गर्न दिनेगरी र दैनिक १० किलो सुनको कोटा तोकेको थियो।
त्यसपछि बजारको मागलाई मध्यनजर गर्दै क्रमशः १५ किलो, २० किलो र लगनको सिजनमा २५ किलोसम्म दैनिक सुन आपूर्तिको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको थियो।
कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव कम गर्न २०७६ चैतबाट दैनिक १० किलोका दरले सुन आयात गर्न दिने सर्कुलर जारी गरिएको छ। तर हालको सुनको भाउमा भएको अतिवृद्धि र महामारीले बजारमा आएको मन्दीका कारण थप सुन आयात गर्नुपर्ने अवस्था नै नआएको उनी बताउँछन्।
नेपाल राष्ट्र बैंकले २०६८ सालमा जारी गरेको एकीकृत निर्देशिकामा ढिका सुन व्यक्तिले खरिद गर्न नपाउने व्यवस्था गरी बन्देज लगाइएको अवस्था छ। उक्त सर्कुलरमा सुन गरगहनाको रूपमा मात्र खरिद गर्न सकिने आसय रहेको छ।
‘सुनको माध्यमबाट नेपाली अर्थतन्त्रले पाउनसक्ने फाइदाबाट पनि वञ्चित भइरहेको छ। नेपाली नीति निर्माताहरुको नजरमा सुन भन्नासाथ तस्करी, विदेशी मुद्राको खर्च, अपराध र अपराधीको मात्र चित्र परिरहेको छ। सुनले दिने व्यापार, रोजगारी, राजस्व, समृद्धि, आर्थिक सुरक्षा, मौद्रिक स्थायित्व र लगानीको सुरक्षित क्षेत्रको पाटोमा नजर पुग्न सकेको छैन’, उनले भने।
कसरी गर्ने सुधार?
अहिले नेपालमा वार्षिक ५० देखि ६० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भइरहेको छ। हरेक वर्ष लगभग ६ अर्ब रुपैयाँ भन्सार, आयकर, टिडिएस लगायत प्रत्यक्ष–अप्रत्यक्ष राजस्व यस क्षेत्रबाट प्राप्त भइरहेको छ।
यसलाई आवश्यक नीति–नियम, कानुनको तर्जुमा गरी प्रोत्साहन गर्न सकिएमा बजारको आकारमा धेरै ठूलो परिमाणात्मक वृद्धि भई राजस्वको स्रोतमा पनि धेरै ठूलो वृद्धि हुने शाक्य बताउँछन्।
विश्वमा सुनको सञ्चय बढी भएका मुलुकको मुद्रा बलियो र सर्वस्वीकार्य हुन्छ। राणाकालीन समयमा बेलायतको पाउन्डसँग तुलना हुने नेपाली रुपैयाँको अवमूल्यन हुँदै अहिले एक डलरलाई नेपाली १२३ रुपैयाँसम्म तिर्नुपर्ने अवस्थामा पुग्नुको एउटा कारण नेपालले आफूसँग पर्याप्त मात्रामा सुनको सञ्चिति राख्न नसकेर पनि भएको उनको धारणा छ।
‘जसले सुन सञ्चय गर्न सक्यो धनी उही हुने हो। इतिहासले यही प्रमाणित गरेको छ। संसारभरि नै इन्फ्लेसनबाट बच्न सबैभन्दा सुरक्षित लगानी सुनलाई मानिन्छ,’ शाक्य भन्छन्, ‘त्यसैले विकसित देशका हरेक लगानीकर्ताले आफ्नो लगानीको केही अंश सुनमा अनिवार्य गर्छन् र सुनमा लगानी नगरिएको खण्डमा लगानीको नीति पूर्ण हुँदैन भन्ने सिद्धान्त नै छ। तर नेपाल यस मामिलामा निकै पछाडि रहेको छ।’
नेपालमा कोटा प्रणाली रहेको र हाललाई दैनिक २० किलो सुनको मात्र सीमित आपूर्तिको व्यवस्था भएकोले महासंघले तोकिआएको दैनिक दरभाउ नै काफी छ। नेपालको सुनको बजारमा खड्किएको आवश्यकता भनेको गोल्ड एक्सचेन्जको स्थापना नहुनु नै मुख्य कारण भएको शाक्य बताउँछन्।
यथाशीघ्र नेपालमा पनि गोल्ड एक्सचेन्जको स्थापना गरी नेपाली सुनको बजारलाई पनि विश्वस्तरको बनाउन पहल हुनु जरुरी भएको उनको भनाइ छ।
कात्तिक २३, २०७८ मंगलबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।