राप्रपामा कमल थापाविरुद्ध धवल–राजेन्द्रको जोडी, महाधिवेशनमा सक्रिय राजतन्त्र पक्षधर हाबी हुँदै

राप्रपामा कमल थापाविरुद्ध धवल–राजेन्द्रको जोडी, महाधिवेशनमा सक्रिय राजतन्त्र पक्षधर हाबी हुँदै

फुटको लामो शृङ्खला पार गरेर बल्ल बल्ल एकीकृत भएको पार्टीमा अहिले तीन अध्यक्ष छन्, कमल थापा, पशुपति शमशेर राणा अनि प्रकाशचन्द्र लोहनी। एकता महाधिवेशनबाट अध्यक्ष एक जना मात्र निर्वाचित हुनेछन्।

निर्वाचनको समीकरण हेर्दा यी तीन जनाबिचै पार्टीको नेतृत्वको लागि प्रतिस्पर्धा हुने झैँ देखिए पनि नयाँ अनुहारका रूपमा धवल शमशेर राणा र राजेन्द्र लिङदेन समेत पार्टी नेतृत्वमा पुग्ने तयारी गरेपछि आगामी महाधिवेशन रोचक मोडमा पुगेको छ।

राजावादी पार्टीको छवि बनाएको राप्रपाको भावी नेतृत्वमा पाँच जनाको दाबेदारी देखिए पनि राजनीतिक लाइनका हिसाबमा भने सक्रिय राजतन्त्र पक्षधर र संवैधानिक राजतन्त्र पक्षधरको २ लाइन देखिन्छ।

सक्रिय राजतन्त्रको वकालतकर्तामा लिङदेन र राणाको मत मिल्छ। अन्य तीन नेताहरू संवैधानिक राजतन्त्रको पक्षमा देखिन्छन्। राजतन्त्रबारे पार्टीभित्र बढिरहेको यही बहसले आगामी महाधिवेशनसम्म निरन्तरता पाएमा लिङदेन र धवल एक ठाउँमा र अन्य तीन नेता एक ठाउँमा उभिने सम्भावना उत्तिकै छ। महाधिवेशनको मिति नजिकिएसँगै अध्यक्षका आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी भने छाडिसकेका छैनन्।

‘अहिले औपचारिक केही भएको छैन, उहाँ (पशुपति शमशेर) पनि अध्यक्षको दाबेदार हुनुहुन्छ। थप टिप्पणी नगरौँ,’ राणा निकट एक नेताले उकेरासँग भने। 

वर्तमान अध्यक्ष मध्येका थापाले नेतृत्व छाड्ने सङ्केत छैन। उनको समूहका नेताहरूले उनलाई राप्रपाको निर्विकल्प नेतृत्वको रूपमा प्रचार गर्ने गरेका छन्।

‘वर्तमान अध्यक्ष हुनाले पनि उहाँ( कमल थापा) स्वाभाविक रूपमा अध्यक्षको दाबेदार हुनुहुन्छ,’ थापा निकट नेता भुवन पाठकले उकेरासँग भने। तेस्रो अध्यक्ष लोहनी युवा पुस्तालाई नेतृत्व दिन तयार भए पछि हट्ने तर पुरानै अनुहार दोहोरिने हो भने आफू पनि नेतृत्वका लागि चुनावी मैदानमा उत्रिने तयारीमा देखिन्छन्।

नयाँ पुस्ताबाट नेतृत्वको दावा गरिरहेका धवल शमशेर राणा अब पार्टी नयाँ पुस्ताले मात्र चलाउन सक्ने भएकाले अध्यक्षको उम्मेदवार बन्ने तयारी गरेको बताउँछन्। उनले नयाँ पुस्ताबाट नेतृत्वमा अन्य नेताको दावा आए सहमति समेत हुनसक्ने भन्दै परिआए लिङदेनको लागि उम्मेदवारी छाड्न सक्ने सङ्केत भने गरे।

‘म पनि अध्यक्षको दाबेदार हुँ। राजा सहितको हिन्दु राष्ट्र चाहिन्छ। सङ्घीयता खारेज हुनुपर्छ। बेथिति हटाउनुपर्छ। हामी राजावादी, हिन्दुवादी, राष्ट्रवादी र भ्रष्टाचार विरोधी अभियन्ताहरू सबै एक ठाउँमा राखेर अघि बढ्नुपर्छ,’ धवल शमशेर राणाले उकेरासँग भने‘ नयाँ पुस्ताले पार्टी चलाउनुपर्छ भनेर हामी अघि बढेका हौँ। सहमति हुन्छ भने म पछि हट्न तयार छु। चुनावी प्रक्रियामा जान पनि तयार छु।’

अहिले प्रतिनिधिसभामा राप्रपाका एक्ला प्रतिनिधि हुन् लिङ्देन। उनले पनि धवलले झैँ अब युवापुस्ताले पार्टी हाँक्नुपर्ने दाबी गर्दै आएका छन्। उनले महाधिवेशन प्रतिनिधि छनोट सकिएपछि काठमाडौँमा भेला गरेर औपचारिक रूपमा पार्टी अध्यक्षको उम्मेदवारी घोषणाको तयारी गरेका छन्।

‘राप्रपा जुन कार्यशैली र रणनीतिबाट हिँडिराखेको छ यसले पार्टी झन्झन् कमजोर हुँदै जाने देखियो। अहिले राप्रपाको मुद्दा सडकमा इतिहासकै मजबुत अवस्थामा छ। तर, पार्टी स्वयं जीवनकै सबैभन्दा कमजोर अवस्थामा छ,’ उनले उकेरासँग भने‘ राप्रपामा नेतृत्व परिवर्तन हुनुपर्छ। पार्टीमा परिवर्तन जरुरी छ र त्यो नेतृत्व परिवर्तनबाट सुरु गर्नुपर्छ।’ 

पटक पटक फुट्दा राप्रपाले जनविश्वास गुमाएको भन्दै उनले पार्टीलाई एक बनाउन अहिलेका तीनै जना अध्यक्षले अभिभावकीय भूमिकामा बस्नुपर्ने बताए। ‘अजेण्डा मिल्नेहरूलाई राप्रपामा आउने वातावरण तयार गर्ने, फुट्ने सम्भावना अन्त्य गर्ने, एक व्यक्ति कार्यकारी पदमा दुई कार्यकाल मात्र बस्न पाउने, एक व्यक्ति एक पदको अवस्थाका लागि अब तयार गर्नुपर्छ,’ लिङ्देनले भने।

नयाँ नेतृत्वका चुनौती

तत्कालीन राप्रपा र राप्रपा संयुक्तबिच एकता हुँदा राप्रपा संयुक्तमा अध्यक्षमा राणा र लोहनी अध्यक्ष थिए। पार्टी एकता पश्चात् भागबन्डाका आधारमा पार्टी चल्दै आयो। राप्रपासँग २०७६ फागुनमा एकता भएर राप्रपा बनेपछि अहिले तीन अध्यक्ष छन्।

पार्टीले जारी गरेको  सक्रिय सदस्यता वितरण निर्देशिका, २०७७ अनुसार पार्टीले २०७८ वैशाख २५ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय पार्टीको थियो। जसका लागि २०७७ फागुन १५ गतेदेखि सक्रिय सदस्यता वितरण गर्ने निर्देशिकामा उल्लेख छ। 

वैशाखमा गर्ने तयारी गरेको महाधिवेशनका लागि पार्टीले २६ फागुनदेखि १० चैतसम्ममा पार्टीको वडादेखि पालिका तहसम्मको अधिवेशन सक्ने उल्लेख गरिएको छ। तर,कोरोना सङ्क्रमणको जोखिम र लकडाउनका कारण अधिवेशन हुन सकेन।

नेता राजेन्द्र गुरुङ अहिले महाधिवेशनका लागि द्रुत गतिमा काम भइरहेको बताउँछन्। ६८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र कात्तिक २८ मा सातै प्रदेशमा प्रदेश निर्वाचन सम्पन्न गर्ने कार्यक्रममा पार्टी केन्द्रित रहेको उनले बताए। मङ्सिर ११ देखि १३ सम्म हुने महाधिवेशनको लागि विभिन्न समितिले काम गरिरहेका छन्। 

जिल्ला अधिवेशनबाटै राजतन्त्र र सङ्घीयतालाई हेर्ने दृष्टिकोणको आधारमा प्रतिनिधिहरू चुनिँदै आएका छन्। अहिले उठेको नयाँ पुस्ताको नेतृत्वको नारा महाधिवेशनसम्म सेलाएमा थापा पक्ष र लोहनी–राणा पक्षका उम्मेदवारबिच पार्टी नेतृत्वमा कडा टक्कर हुने देखिन्छ।

तर, पूर्व राप्रपा संयुक्तबाट राणा र लोहनी दुवै मैदानमा उत्रने हो र तत्कालीन राप्रपा खेमालाई मिलाउन सक्ने हो भने निर्वाचनमा थापाकै पल्ला भारी हुनेछ। तर लोहनी, थापा र राणासँगै लिङदेन र धवल शमशेरले पनि उम्मेदवारी दिएमा भने नेतृत्वमा जान सक्नेको अङ्क गणित प्रस्ट छैन। धवल शमशेर र लिङदेन दुवै थापा समूहका प्रभावशाली नेता हुन्। उनीहरूमध्ये एक जनाले मात्र उम्मेदवारी दिए पनि त्यसले थापालाई प्रभाव पार्ने छ नै।

महाधिवेशनको समीकरण

राप्रपा महाधिवेशनमा लागि प्रत्येक प्रदेशसभाको निर्वाचन क्षेत्रबाट ३ खुला, ३ महिला, १ दलित र २ जनजाति प्रतिनिधि समेत नौ जना प्रतिनिधित्व हुने छ। जसको सङ्ख्या २ हजार ९ सय ७९ जना हुने छ। 

त्यसै गरी प्रत्येक पालिकाका सभापति ७ सय ५३, प्रदेशसभाका सभापति ३ सय ३०, प्रतिनिधिसभा क्षेत्रका सभापति १ सय ६५, जिल्ला सभापति ७७, प्रदेश सभापति ७ जना सहभागी हुनेछन्। केन्द्रीय सदस्य र मनोनीत गरेर करिब ५ हजार प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छान्ने छन्। 

कात्तिक २२, २०७८ सोमबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।