कस्तो वियोग ! १२ दिनको अन्तरमा श्रीमती र छोरी गुमाए कुमारले , किरिया बसेका छोरा अस्पताल पुगे
बुटवल उपमहानगरपालिका–१२, ढबाहा निवासी थापाले १२ दिनको अन्तरमा श्रीमती र छोरी गुमाए। कात्तिक ४ मा ४२ वर्षीया श्रीमती खुमा बुढा मगर गुमाएका थिए उनले। श्रीमतीको १३ औँ पुष्यतिथी सकिन नपाउँदै कार्तिक १५ मा उनको ३० वर्षीया छोरी कृति थापाको पनि मृत्यु भयो। किरिया बसेका थापाका जेठा छोरा २७ वर्षीय केशन थापाको अहिले गङ्गालाल अस्पतालमा उपचार भइरहेको छ।
खुमा कृतिकी कान्छी आमा हुन्। उनकी आफ्नी आमा अञ्जु थापाको २०६६ मै मृत्यु भएको थियो। अञ्जुको निधनपछि कुमारले खुमासंग केही वर्षअघि विवाह गरेका थिए। ब्रेन ह्यामरेजका कारण उनको मृत्यु भयो। मुटुमा सङ्क्रमण फैलिदा छोरी कृति पनि बितिन्।
कृतिको १२ वर्षको उमेरमै अप्रेसन गरेर भल्भ राखिएको थियो। भल्भमा समस्या भएर सङ्क्रमण फैलिदा उनको जीवनै गयो। उनी ८ महिनाकी गर्भवती थिइन्। जोखिम बढेपछि कात्तिक ८ मा अप्रेसन गरेर उनको बच्चा निकालियो। त्यसको एक हप्तामा उनको निधन भयो। अप्रेसन गरी निकालिएको बच्चाको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाल राष्ट्र बैङ्कमा सहायक निर्देशक पदमा कार्यरत कृतिको ११ महिना अघि काठमाडौँ भंगालका रवीन्द्र राज भण्डारी विवाह भएको थियो। श्रीमान् राजभण्डारी हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्।
छोराको पनि अप्रेसन हुँदै
आमाको किरियामा बस्दा गर्दा अचानक मुटुमा समस्या देखिएपछि गङ्गालाल हृदययरोग उपचार केन्द्रमा उपचाररत थापाका जेठा छोरा केशनको केही दिनमा अप्रेसन गर्ने तयारी भइरहेको छ। १२ वर्षको उमेरमा लेजरथेरापी उपचार भएको केशनको १५ वर्षपछि अहिले फेरी भल्भमा समस्या देखिएको अस्पतालले बताएको कुमार थापाले बताए। मुटुको अप्रेसन गरी भल्भ फेर्न चिकित्सकले सुझाव दिएकाले अबको केही दिनमा अप्रेसन हुने उनले बताए।
कात्तिक २२, २०७८ सोमबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।