एमाले छाड्नेले जमानत पनि जोगाउन सक्दैनन् : केपी ओली 

एमाले छाड्नेले जमानत पनि जोगाउन सक्दैनन् : केपी ओली 

एमालेमा रहेर पनि कुनै योगदान गर्न सक्ने अवस्था भएपछि पार्टी परित्याग गरेको उनको भनाई छ। ओलीले एमाले छाड्नेले जमानत पनि जोगाउन नसक्ने बताए।

नेकपा एमाले मोरङले विराटनगरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमालेको सरकार ढाल्नेहरू कहिल्यै उठ्न नसक्ने दाबी गरे। प्रदेश सरकार र सङ्घीय सरकार ढाल्ने अनि एमाले छोडेर मन्त्री हुनेहरूले जमानत जोगाउन नसक्ने ओलीको भनाई छ। 

‘एमालेको सरकार ढालेर खुसी भएका छन्। १ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन्,’ओलीले भने,‘सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन। अहिले एमालेको सिटसंख्याको आधा सिट पनि कुनै दलको छैन।’

अधिकांश समय अदालतको विवाद, वर्तमान सरकार, गठबन्धन दलहरू तथा माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालमाथि आलोचक बने ओली। माधव नेपाल गए केही फरक नपर्ने बताउँदै उनले पार्टीमा बिग्रिएकाहरू गए केही फरक नपर्ने बताए। 

वर्तमान सरकार एमसिसिको विषयमा प्रस्ट नभएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको कुरा बाझिएकाले गठबन्धन सरकारको कुनै उद्देश्य नरहेको बताए। आफूले चाहने हो भने एक हप्तामै सरकार ढाल्ने दाबी गर्दै ओलीले आगामी १३ महिनामा निर्वाचन हुने भएका कारण त्यता तर्फ नलाग्ने उल्लेख गरे। 

असंवैधानिक फैसला गर्ने प्रधानन्यायाधीश राजीनामाका लागि लायक भएको बताए। सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन भन्दै उनले संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गर्नेले राजीनामा दिनुपर्ने बताए।

कात्तिक २२, २०७८ सोमबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।