७२ वर्षीया वसन्तीको उद्यम: वार्षिक ७० लाख कारोबार

७२ वर्षीया वसन्तीको उद्यम: वार्षिक ७० लाख कारोबार

बुटवलः ७२ वर्षकी वसन्ती खत्रीले वार्षीक ७० लाखको कारोबार हुने उद्यम गर्छिन्। २५ वर्ष भयो, उनको उद्यमले सबैको मन जितेको छ।

उद्यम हो- अचारको। ०५३ सालमा बुटवल उपमहानगरपालिका-८ शिवनगरमा 'वसन्ती अचार उद्योग' स्थापना भएको थियो। अहिले नेपाल मात्र होइन, विदेशमा पनि वसन्तीको अचारको पारखी छन्। वसन्ती पनि अचारकै नामबाट परिचित छिन्।

५० रुपैयाँबाट सुरु
वसन्तीको अचारको यात्रा रोचक छ। सुरुमा उनको अचार सालको पातमा २ रुपैयाँमा पाइन्थ्यो। बुटवलको शिवनगर सामुदायिक वनमा घाँसदाउरा गर्न आउनेहरूलाई उनी २ रुपैयाँको अचार चखाउँथिन्।

खाने जति सबैले अचार मन पराउँथे। ०५३ सालतिर चाहिँ उनले व्यवसायिकरूपमै अचार बनाउने निधो गरिन्।

'घाँस दाउरा गर्नेहरूलाई अचार खुवाउन ५० रुपैयाँबाट एक लिटर तेल र दुई केजी आँप किनेर अचार बनाएर बिक्री गरेँ। सबैले मन पराएपछि, हौसला मिल्यो', उनले भनिन्।

शिवनगरमा अचार बनाएर बिक्री गर्नुअघि वसन्तीले घरायसी प्रयोजनकै लागि अचार बनाउँथिन्।

सानैदेखि अचार खान र बनाउन मन पर्ने वसन्ती अचार बनाएर छरछिमेकलाई समेत खुवाउँथिन्। सबैले उनको अचार मन पराउँथे।

गुल्मी तम्घासमा २००६ सालमा जन्मिएकी वसन्तीको बाल्यकाल भारतमै सिलाङमा बित्यो। ०४५ सालमा परिवारसहित उनी नेपाल (बुटवल) आइन्। त्यसपछि उनले आफ्नै सीपलाई व्यवसायमा उतारिन्।

सुरुमा ५० रुपैयाँको लगानीबाट अचार व्यवसाय सुरु गरेकी वसन्ती खत्री  अचार बिक्रीबाटै वार्षिक २० लाखसम्म नाफा हुने बताउँछिन्।

'कोभिडअघि वार्षिक ७० लाख बढी कारोबार हुन्थ्यो। तर अहिले कारोबार कम भएको छ। विस्तारै तंग्रिने अवस्थामा छ', उनले भनिन्।

सालको पातमा दुई रुपैयाँमा पाइने अचार अहिले विस्तार हुँदै देशभित्रका ३० जिल्लामा बिक्री हुन्छ। कोशेलीको रूपमा विदेशसम्म पनि वसन्तीको अचार पुग्ने गर्छ।

'धेरैले कोशेलीको रूपमा उद्योगबाटै आएर पनि लैजानुहुन्छ। नभए डिपार्टमेन्ट स्टोरबाट भए पनि अचार विदेशमा पुग्ने गरेको छ', खत्रीले भनिन्।

१८ प्रकारका अचार
अहिले उनले आँप, खुर्सानी, अकबरे खुर्सानी, लसुन, च्याउ, लप्सी, मिस्कट, तामा, कोइरालो, करेला मेथी, सिक्नी, भट्ट, अमला, भरुवा खुर्सानी, हरियो खुर्सानी, कागती, मुला, गाँजर टिमुरलगायतका १८ प्रकारका अचार बनाउँदै आएकी छिन्।

कोभिडअघिसम्म २५ प्रकारका अचार बनाउँथिन् उनी। तर अहिले व्यापारमा ह्रास आएपछि अचारका प्रकारमा कटौती गरेकी हुन्।

कोभिडले व्यवसायलाई धेरै समस्यामा पारेको उनको भनाइ छ। वार्षिक आम्दानी कोभिडअघि २० लाख हुने गरेकोमा अहिले खर्च कटाएर बढीमा वार्षिक आम्दानी ५ देखि ७ लाख मात्र भएको उनले बताइन्।

'पहिले मासिक १० देखि १२ क्वीन्टलसम्म अचार बिक्री हुन्थ्यो। ११ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। तर अहिले ५ जनाले मात्र रोजगारी पाएका छन्', उनले भनिन्।

मेला महोत्सवमा अचार
वसन्तीले १० वर्षदेखि पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना-ठूला सबै कृषि, उद्योग तथा व्यापार मेला महोत्सवमा अचारको स्टल राख्ने गर्छिन्।

पछिल्लो २ वर्षयता मेला महोत्सव भएका छैनन्। दशैंमा भने बुटवल उद्योग वाणिज्य संघले राखेको दशैं सस्तो बजारमा उनले स्टल राखेकी थिइन्।

'मेला महोत्सवमा आयोजकहरू आफैंले स्टल राख्न भन्नुहुन्थ्यो। कोभिडले महोत्सव नहुँदा उद्योगको आम्दानी घटेको छ', उनले भनिन्।

आफ्नाे सेखपछि पनि निरन्तरताकाे चाहना
कुनै पनि रसायन प्रयोग नगरी घरेलु समाग्रीबाट अचार बनाउने हुँदा मेला महोत्सवमा पनि उनको अचार राम्रो बिक्री हुन्छ।

महोत्सवबाटै उनले धेरै पटक उत्कृष्ट स्टलको पुरस्कार समेत थापिसकेकी छिन्। रुपन्देहीको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि उनलाई सम्मान गरेको छ।

वसन्ती आफ्नो सेखपछि पनि उद्योगको निरन्तरता चाहन्छिन्।

'श्रीमान् (शेर बहादुर खत्री) बिरामी हुनुहुन्छ। उद्योग म आफैंले भ्याउनु पर्छ। केही सहयोग छोरा बुहारीबाट पनि भएको छ', उनले भनिन्।

कात्तिक २२, २०७८ सोमबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।